काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE) शुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिएको बैंकले जनाएको छ ।
स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्देश्यका साथ नबिल सामाजिक उद्यमशीलता कार्यक्रमले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।
शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका विभिन्न स्कुल, कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ । प्रदेश १ बाट महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा बिरगंज पब्लिक कलेज, बागमती प्रदेशमा काम्पिएन कलेज, गण्डकी प्रदेशमा फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविघालय, लुम्बिनी प्रदेशमा क्षितीज इन्टरनासनल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज र सुदुर पश्चिमाञ्चलमा सुदुर पश्चिमाञ्चल अकाडेमीसँग बैंकले सम्झौता गरेको छ ।

कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेज संग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछ ।
त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले गरेको छ । यसैगरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ । उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागि हुन सक्नेछन् ।

दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा बैंकले गरेको छ । उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् । सहभागीहरुले सामाजिक उद्यम संचालनको तरिकासंगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउँनेछन् । उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजाल मार्फत आफ्नो व्यवसाय प्रबद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउँनेछन् ।
लघुवित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ । यसले गर्दा यो तालिम व्यवसाय शुरुवात तथा संचालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससंग समेत जोडिएको छ । यसरी व्यवसाय संचालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने छ ।

नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रबद्र्धन गर्न यो कार्यक्रमले निजी, सार्वजनिक, शैक्षिक संस्था र समुदायवीचको रचनात्मक सामूहिकतालाई प्रबद्र्धन गर्ने प्रयास गरेको छ । दीगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ। यो कार्यक्रम पूर्ण व्यावसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउँन एक नयाँ शुरुवात हुने बैंकले जनाएको छ ।




Comments are closed.