आजबाट ‘नाडा अटो शो’

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ आज सुरु हुँदैछ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने अटो शो भदौ ३१ सम्म चल्नेछ । नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको संयोजक अनुपकुमार बरालले जानकारी दिए । यतिबेला अटो शो हुने स्थान भृकुटीमण्डप अटोमय बनेको छ ।

अटो शोमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहनेछन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने छ ।

प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहने छ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने जनाइएको छ ।

footwear zone

अटो क्षेत्र चलायमान नभएको बेलामा प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने नाडा अध्यक्ष ध्रुव थापाले बताए ।

चार पाङ्ग्रेमा यी ब्रान्डको सहभागिता हुने

यसपटक बीवाईडी, एमजी, नेटा र वुलिङले ईभीलाई मात्र प्रदर्शनीमा राख्ने छन् । नयाँ ईभी ब्रान्डका रुपमा सेरेस, मेक्सस र जी ईभी जस्ता नयाँ ब्रान्ड पहिलोपटक नेपाल भित्रिने तयारीमा छन् । यसैगरी सिट्रोन, ग्रेटवाल, हुन्डाई, किया, निसान र टाटाका भने इलेक्ट्रिक कारसँगै कम्वसन गाडीलाई स्टलमा देख्न पाइनेछ । फोर्ड, महिन्द्रा र सुजुकीसँग इलेक्ट्रिक कार नभएका कारण यी ब्रान्डका स्टलमा दर्शकले कम्वसन इन्जिनयुक्त गाडीमात्र अवलोकन गर्न पाउनेछन् ।

मेलामा बीवाईडीले नयाँ मोडलका रुपमा डल्फिन ईभीलाई औपचारिक रुपमा लन्च गर्ने तयारी गरेको छ । सो ब्रान्डको स्टलमा हाल सबैभन्दा वढी चर्चा बटुल्न सफल एट्टो ३ र ई६ समेत सोकेश गरिनेछ । एमजीले जेडएस ईभीको प्रदर्शनसँगै नयाँ मिनी कार कोमेट लन्च गर्न सक्ने जनाइएको छ ।

नेटाले हाल बिक्री गर्दै आएको भी मोडललाई सोकेस गर्ने तयारी छ । अर्को नयाँ मोडल ‘यू’ आउनसक्ने देखिएको छ । वुलिङले हाल बिक्री गर्दै आएको एयर मिनी ईभीलाई आफ्नो स्टलमा सजाउनेछ । नयाँ ब्रान्डका रुपमा पहिलो पटक नेपाल आउन लागेको सेरेसले नयाँ इलेक्ट्रिक क्रसओभर सेरेस ३ र अर्को नयाँ मिनी ईभी लन्च गर्ने भएको छ । मेक्ससले मीफा–९ नाम गरेको नयाँ एमपीभी र जी ईभीले नाम उल्लेख भइनसकेको नयाँ ब्रान्ड ल्याउनेछन् ।

कम्वसन र ईभी दुवै सेग्मेन्टका गाडी बिक्री गर्दै आएका हुन्डाई, किया, टाटा, सिट्रोन, ग्रेटवाल र निसानमध्ये किया र टाटाले मेलास्थलबाटै क्रमशः ईभी ६ र टियागो ईभीलाई औपचारिक लन्च गर्ने तयारी गरेका छन् । हुन्डाईले आयोनिक ५ र कोना ईभीसँगै क्रेटा, टुसान र भेन्यु लगायत मोडललाई प्रदर्शनीमा राख्नेछ ।

साथै हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भारतमा केही समयअघि लन्च भएको माईक्रो एसयूभी एक्सटरलाई पनि मेलास्थलबाटै औपचारिक लन्च गर्ने सम्भावना छ ।

सिट्रोनको स्टलमा दर्शकले सी ३ को कम्वसन र इलेक्ट्रिक दुवै मोडललाई अवलोकन गर्न पाउनेछन् । ग्रेटवालको स्टलमा इलेक्ट्रिक कार ओरा ३ सहित ह्यावल र जोलायन एसयूभी, फोर्डको स्टलमा एभरेष्ट एसयूभी र रेन्जर पिकअप तथा निसानको स्टलमा लिफ ईभी र म्याग्नाइट लगायत मोडल सोकेस गरिनेछ । मारुती सुजुकीले हालसालै नेपाल ल्याएको ४ वटा नयाँ एसयूभी सो ब्रान्ड स्टलमा सजिनेछन् । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले केही समयको अन्तरालमा ल्याएर बिक्री थालेको ग्रान्ड भिटारा, नयाँ ब्रेजा, फ्रोङक्स र जिम्नी अफरोड एसयूभी दर्शकको आकर्षणमा पर्नेछन् । महिन्द्राको स्टलमा दर्शकले स्कर्पियो एन र एक्सयूभी ४०० लगायत एसयूभीलाई अवलोकन गर्न सक्ने छन् ।

मेलामा यसपटक जिप, स्कोडा, फक्सवागन, टोयोटा, सुवारु, प्रोटोन, मित्सुविसी, टेस्ला, औडी र विएमडब्लु लगायत ब्रान्ड भने सहभागी हुनेछैनन् । यी ब्रान्डसँग नयाँ मोडलका कार उपलब्ध नभएका कारण सहभागी हुन अनिच्छुक देखिएको अनुमान गर्न सकिन्छ ।

दुई पांग्रे सवारीमा यी ब्रान्ड

नाडा अटो शो २०२३ मा दुई पाङ्ग्रेतर्फ आफ्टेक, बजाज, बेनेली, इभोक, जावा, होन्डा, कोमाकी, केटीएम, लेकट्रो, लेभ्निङ लगायतका ब्रान्ड छन् । एनआईयू, प्योर ईभी, रोयल इन्फिल्ड, सेग्वे, स्लेन, सुनरा, सुजुकी, टीभीएस, भेस्पा, अप्रिलिया, याडिया, जोनटेसलगायत विद्युतीय र चल्तीका ब्रान्ड हुने छन् ।

आयात प्रतिबन्ध र कोभिडको असर

२०७६ देखि कोभिड १९ को सङ्क्रमण तीव्र गतिमा बढ्न थालेसँगै गरिएको लकडाउनका कारण विभिन्र क्षेत्रमा सङ्कट देखिन थाल्यो, जसमा अटोमोबाइल क्षेत्र पनि अछुतो रहन सकेन । जसले गर्दा तीन वर्ष जति यसको असर अटो बजारले झेल्नु प¥यो । त्यसपछि २०७९ वैशाख १३ गतेदेखि सरकारले विदेशी मुद्रा सञ्चितिमा भार परेको भन्दै पेट्रोलियम सवारीको आयातमा प्रतिबन्ध लगाउदा जिप, कार, भ्यानदेखि १५० सीसीभन्दा माथिका सम्पूर्ण दुई पाङ्ग्रे सवारी साधनको आयातमा प्रतिबन्ध लगाउँदा अटो बजार धरापमा प¥यो । चरणबद्ध रूपमा कतिपय वस्तुको आयात खुला गरिएको अवस्थामा ५० हजार डलरभन्दा महँगा डिजेल तथा पेट्रोलियम गाडी र १५० सीसीभन्दा बढीका मोटरसाइकलको आयात प्रतिबन्ध कायम थियो । २०७९ मंसिर २० गते बसेको मन्त्रिपरिषद बैठकले पुसदेखि यी वस्तुको पनि प्रतिबन्ध खुला गर्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी दिल्लीराम पोखरेलले आठ महिनासम्म सवारी आयातमा प्रतिबन्ध लगाउँदा व्यवसायलाई समस्या पर्नु स्वभाविक रहेको बताए । पोखरेलका अनुसार समग्र देशको अर्थतन्त्रलाई नै मध्यनजर गरेर सरकारले यो निर्णय गर्न बाध्य भएको थियो । उनले भने, ‘त्यही सन्र्दभलाई नै मध्यनजर गर्दै राज्यले यो निर्णय गरेको थियो र यसमा राज्य पनि विदेशी मुद्राको सञ्चित गर्न सफल भएको छ ।’

त्यतिमात्र नभई करिब ९० अर्बजति राजस्व सङ्कलन गर्ने क्षेत्रलाई प्रतिबन्ध लगाउँदा आर्थिक वर्ष २०७९/०८० मा तोकिएको लक्ष्यभन्दा २८ प्रतिशत राजस्व कम सङ्कलन भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसनका महासचिव सुरेन्द्र उप्रेतीले देशको अर्थतन्त्रको मूल खम्बा रहेको अटोमोबाइल क्षेत्रलाई सरकारले अवहेलना गर्दा हाल समग्र अर्थतन्त्र नै धराशायी भएको दाबी गर्छन् । उनले भने, ‘दुई वर्षजति कोभिड १९ को महामारीदेखि सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै करिब ८ महिना महँगा सवारी साधानमा लगाएको प्रतिबन्धका कारण आज अटोमोबाइल क्षेत्र प्रभावित बनेको छ ।’ सवारी प्रतिबन्धको दौरानमा अटो व्यवसायमा आवद्ध रहेका सयाँै व्यवसायीहरु यस क्षेत्रबाट पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको र यसका कारण हजाराँै कर्मचारीहरुको रोजगार नै खोसिएको र लर्को लगाएर जागिरबाट निकाल्नुपर्ने परिस्थिति आएको उप्रेतीले बताए ।

प्रतिबन्धको फाइदा ईभीलाई

सरकारले पेट्रोलियम सवारी साधनको आयातमा प्रतिबन्ध लगाउँदा विद्युतीय सवारीको आयातमा भने कुनैपनि प्रकारको प्रतिबन्ध लगाएको थिएन । जसले गत आर्थिक वर्ष २०७९÷८० मा ४ हजार ५० इलेक्ट्रिक सवारी साधन भित्रिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । भन्सार विभागले साउनमा सार्वजनिक गरेको तथ्यांक अनुसार २०७९ असार मसान्तसम्म भित्रिएका इलेक्ट्रिक सवारी साधनमध्ये सबैभन्दा बढी अर्थात ४ हजार ३१ युनिट १०० किलोवाटसम्मका इलेक्ट्रिक कार, जिप र भ्यान छन् । त्यसैगरी १०१ देखि २०० किलोवाटसम्मका १५ युनिट र २०१ देखि ३०० किलोवाटसम्मका ४ युनिट रहेका छन् । यो भन्दा पहिले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ८०७ युनिट मात्र इलेक्ट्रिक सवारी साधन भित्रिएका थिए । यो भन्दा पहिले आर्थिक वर्ष २०७७/०७८ मा नेपाली बजारमा २ सय ६१ युनिट कार, जिप र भ्यान भित्रिएका थिए । आर्थिक वर्ष २०७६/७७ मा कुल ४८१ विद्युतीय सवारी साधन भित्रिएका थिए ।

निराशापछिको आशा पन्ध्रौं अटो मेला

प्राकृतिक प्रकोप कोभिड महामारीदेखि मानव सिर्जित संकटका कारण करिब चार वर्षसम्म हुन नसकेको सवारी साधनको कुम्भ मेला यस वर्ष नाडा अटोमोबाइल्स एसोसिएसनले भदौै २६ गतेदेखि ३१ गतेसम्म आयोजना गर्ने भएको छ । निकै संकटकाबीच उक्त मेला आयोजना गर्न लागिएको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए ।

नाडा अटो शो २०२३ मा विगतमा भन्दा उत्साहजनक रूपमा अटोमोबाइल कम्पनीहरू सहभागी हुने नाडाले जनाएको छ । नाडाका अनुसार यस वर्षको मेलामा अवलोकनकर्ताले विद्युतीय सवारी साधनलगायत चार वर्षपछि हालसम्मका नयाँ मोडलका सवारी अवलोकन गर्न पाउने छन् ।

नाडा अध्यक्ष ध्रुव थापाले १५औँ अटो शोका कारण व्यवसायीदेखि ग्राहक उत्साहित भएको दाबी गरेका छन् । उनले भने, ‘कोभिड १९ को महामारी र सवारी आयातमा भएको प्रतिबन्धका कारण थिल्थिलो परेको अटोक्षेत्रलाई उक्त मेलाले थप उत्साहित र चलायमान बनाउने अपेक्षा नाडा लगायत व्यवसायीले राखेका छन् । बजारलाई आर्थिक मन्दीले च्यापेका बेला नाडा अटो शो चलायमान हुँदैन कि भन्ने थियो तर स्टल निर्धारणको बेलामा पनि व्यवसायीहरूको उपस्थिति नै उत्साहजनक देखियो । यस पटक पनि अटो शो गर्न नपाएको भए यो क्षेत्र अझै प्रभावित हुने थियो ।’

उसो त नेपालमा मध्यम वर्गका लागि र केही उच्च व्यक्तिका लागि भनेर सवारी आयात हुने गरेको छ । जुन विगतबाट आयात भएका नयाँ सवारी नाडा अटो शो मार्फत आम नागरिकलाई जानकारी गराइन्छ । तर करिब चार वर्ष अटो शो नहुँदा बजारमा आएका विभिन्न कम्पनीका नयाँ मोडलहरू आम मानिसले थाहा पाउने स्थिति भएन । नाडाका अध्यक्ष थापाले बीचमा मेला गर्न नपाउँदा बजारमा आएका नयाँ नयाँ मोडलहरूको प्रदर्शन गर्ने अवस्था नभएको र ग्राहक पनि नयाँ मोडलका सवारीसँग परिचित हुन पाउने स्थिति नभएको बताए । यस पटकको नाडा अटो शोमा विद्युतीयसहित पेट्रोलियम चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्ट्स, टायर, ट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणको प्रर्दशनी गरिने उनले बताए ।

अटो बजारलाई चलायमान बनाउनका लागि बैंकदेखि इन्स्योरेन्स क्षेत्रको अहम् भूमिका हुने गर्छ । विगत केही वर्ष यता सरकारले राज्यको अर्थतन्त्रमा मन्दी आएको भन्दै अटो लोनमा केही कडाइ गरेको थियो । जसमा राष्ट्र बैंकले २०७८ फागुन १२ गते व्यक्तिगत सवारी कर्जाको जोखिमभार दोब्बर अर्थात ७५ प्रतिशतले बढाएर १५० प्रतिशत बनाएसँगै अटो र बैंकिङ व्यवसाय समस्या पारेको थियो । जोखिम भार बढाएर मात्रै गाडीको आयात नरोकिएको भन्दै राष्ट्र बैंक लगायत सरोकारवाला सरकारी निकायको समन्वयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्ध नै लगाएको थियो ।

सरकारले गाडीको आयात प्रतिबन्ध खुलाए पनि उपभोक्ताले सहज कर्जा पाउने अवस्था नबन्दा विक्री हुन सकिरहेको थिएन । तर राष्ट्र बैंकले २०८०÷०८१ को लागि ल्याएको मौद्रिक नीतिले भने अटो क्षेत्रलाई केही खुकुलो बनाएको छ । राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारी साधनको कर्जामा जोखिमभार घटाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र समेत जारी गर्दै २५ लाखमुनिका गाडीमा कर्जा जोखिमभार १५० बाट घटाएर १०० प्रतिशत कायम गरेको हो । यसअघि सबै मूल्यका सवारी कर्जाको जोखिम भार १५० प्रतिशत थियो भने अब २५ लाख वा सो भन्दा बढी मूल्यका सवारी कर्जाको जोखिम भार १५० प्रतिशत रहने छ । नाडाका अध्यक्ष थापाले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण केही बैंकदेखि इन्स्योरेन्सहरू यस क्षेत्रमा लगानी गर्न उत्साहित भएकाले मेलामा उनीहरूको सक्रीय सहभागित हुने बताएका छन् ।

नाडा अटो शो २०२३ मा सहभागी हुने अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधनको बिक्रीका लागि विभिन्न छुट र सुविधा सहितका प्याकेज दिनेछन् । प्रदर्शनी ७५ हजार भन्दा बढीले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाको छ ।

अटो क्षेत्रबाट अबको आशा

नेपालको अर्थतन्त्र विकासमा अटो क्षेत्रको योगदान अतुलनीय नै छ । हालसम्म दुई खर्ब भन्दा बढीको लगानी रहेको उक्त क्षेत्रमा आयातमा कम खर्च गरी बढी राजस्व बुझाउनेमध्ये एउटा क्षेत्र अटो रहेको सरोकारवालाहरू बताउँछन् । सरकारले वार्षिक औसत ८५ देखि ९० अर्ब रूपैयाँ राजस्व यस क्षेत्रबाट उठाइरहेको छ । यसमा भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र सडक कर समावेश छ । पछिल्ला दुइ आर्थिक वर्षमै ९० अर्ब रूपैयाँ हाराहारी राजस्व संकलन अटो क्षेत्रबाट भएको छ । त्यस्तै यो क्षेत्रले १ लाखभन्दा बढीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । तर करिब ८ महिना सवारी आयातमा प्रतिबन्ध लगाउँदा यो क्षेत्रबाट राजश्व आम्दानीमा हृास आएको छ ।

भन्सार विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्का आठ महिना सवारी आयातमा प्रतिबन्ध लगाउँदा देशको राजस्व संकलनमा कमी आएको स्विकार गर्छन् । आयात प्रतिबन्धका कारण अटो क्षेत्रबाट उठ्ने राजस्वमा करिब ७ देखि ८ अर्बको कमी आएको र गाडीहरू भन्सारमा थुप्रिएको उनले बताए । उनले भने, ‘हामीले व्यवसायीलाई मारमा पार्ने तरिकाले केहीपनि अप्ठ्यारो काम गरेका छैनौँ । आयात खुल्ला गरेपछि सवारीहरू थुप्रिएको अवस्था छ । विभागले सवारी आयात गर्न केही कठिनाइ गरेको छैन । उनीहरूले उपभोक्ता नपाएको र बैंकबाट कर्जा नपाएर गाडी आयात गर्न सक्ने अवस्था पनि छैन होला ।’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सरकारको भनाइ र गराइमा ठूलो अन्तर रहेको बताए । थापाले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटको विषयमा आफ्नो आधिकारिक धारणा राख्दै विद्युतीय सवारी साधनहरूमा लाग्ने महशुल दरहरूमा विभिन्न छुट र नीतिगत सुविधाहरूको सम्बन्धमा एउटा निश्चित र दीर्घकालीन नीति निर्माणका लागि सरकारसँग आग्रह गर्दै आएको तर दुई वर्षको अन्तरालमा पटक पटक संशोधन गरेको भन्दै थापाले सरकारको भनाइ र गराइमा अन्तर रहेको बताएका हुन् ।

You might also like

Comments are closed.