चितवन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले चिल्ला सडकमा नेपालीहरुले गाडी गुडाउन पाउनुपर्ने बताएका छन् । नेपालका सडकहरुको अवस्था निकै दयनीय रहेको बताउँदै उनले सडकको स्तरउन्नति जरुरी रहेको भनाइ राखे ।
नाडा र चितवन अटोमोबाइल्स एसोसिएसन तथा हेटौंडा अटोमोबाइल्स एसोसिएसनको संयुक्त अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै दुलालले देशको विकासका लागि सडक पूर्वाधारको विकास अनिवार्य भएको बताए । अटोमोबाइल व्यवसायीहरुले राज्यलाई उल्लेख्य कर तिर्ने गरेको बताउँदै त्यो करलाई सडकको स्तरउन्नतिसहित पूर्वाधार विकासमा खर्च हुनुपर्ने उनको भनाइ छ । ‘नेपालीले चिल्लो सडकमा गाडी गुडाउने अवस्था आउनुपर्छ,’ अध्यक्ष दुलालले भने, ‘त्यसका लागि हामीले पनि सरकारलाई दबाब दिइरहन आवश्यक छ ।’
कोरोना महामारीका बीचमा पनि नाडाको बर्तमान कार्यसमितिले उत्साहजनक कार्य गर्न सफल भएको उनले बताए । व्यवसायीहरुलाई नीतिगत रुपमा कुनै समस्या भएमा समाधान गर्न सफल भएको बताउँदै उनले व्यावसायिक हकहितका क्षेत्रमा नाडा सक्रिय रहेको भनाइ राखे ।

सातै प्रदेशमा नाडा अन्तर्गतका एसोसिएसन गठन भएको र सबै एसोसिएसनसँग सहकार्य भइरहेको उनले बताए । प्रदेश एसोसिएसनले अटो सो गरेमा नाडाले सहयोग गर्ने उनको भनाइ छ । नाडाले सरकारलाई धेरै सुझावहरु दिदै आएको र नाडाको सुझावलाई सरकारले सुनुवाई गर्दै आइरहेको उनले बताए । कार्यक्रमको सञ्चालन महासचिव सुनिल रिजालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष नवराज डल्लाकोटी र धन्यवाद मन्तव्य उपाध्यक्ष सुवास आचार्यले राखेका थिए ।





Comments are closed.