काठमाडौं । धादिङका बिक्रम अधिकारी आइतबार इभी एक्स्पोको अवलोकनमा व्यस्त थिए । ५ वर्ष अगाडि किनेको आफ्नो गाडी एक्स्चेन्ज गरी नयाँ गाडी किन्ने सोचमा रहेछन् उनी । नाडाद्वारा आयोजित इभी एक्स्पोमा आएका उनले अब आफूले विद्युतीय गाडी चढ्ने सोच बनाएको सुनाए । ‘अब विद्युतीय गाडी खरिद गर्ने सोच बनाएको छु । नेपालमा रहेका विद्युतीय गाडीहरुको बारेमा अध्ययन गर्न इभी एक्स्पोमा आएकोे हुँ ।’
काभ्रेकी सुनिता भट्राईलाई पनि विद्युतीय स्कुटर चढ्ने रुची रहेछ । उनले इभी एक्स्पोमा भएका सबै इलेक्ट्रिक स्कुटरको अवलोकन गरिन् । अब छिट्टै विद्युतीय स्कुटर खरिद गर्ने सोच बनाइसकेको उनले बताइन् । अधिकारी र भटट्राई मात्रै होइन इभी एक्स्पोमा धेरैको चासो देखियो । ४ दिनसम्म चलेको एक्स्पोको करिब ३५ हजार जनाले प्रत्यक्ष अवलोकन गरेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए । ‘हामीले सोचेभन्दा पनि उत्साहपूर्ण रुपमा इभी एक्स्पो सफल भएको छ,’ उनले भने ।
असोज ६ गते सुरु भएको एक्स्पो आइतबार सम्पन्न भएको छ । एक्स्पो अवधिभर चारै दिन अवलोकनकर्ताको भिड लागेको महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले जानकारी दिए । एक्स्पोमा चारपाङ्ग्रका ९ वटा, तीन पाङ्ग्रेको एउटा, दुई पाङ्ग्रेको १६ वटा र अन्य अटो कम्पोनेट गरी कुल ५१ वटा ब्राण्डको सहभागिता रहेको नाडा इभी एक्स्पो कमिटिका सभापति अनुपकुमार बरालले जानकारी दिए । एक्स्पोमा ४ वटा वित्त कम्पनीको समेत सहभागिता थियो । ‘नेपाली बजारमा विद्युतीय सवारीको आकर्षण बढिरहेको छ भन्ने कुरा एक्स्पोले पुष्टि गरेको छ,’ उनले भने ।

यसैबीच, इभी एक्स्पोको अवसरमा आयोजक नाडा र युएसआइडीको सहकार्यमा प्रदर्शनी केन्द्रमा नै ईभी चौतारी नामक छलफल कार्यक्रम समेत भएको छ । ३ दिनसम्म फरक फरक विषयमा केन्द्रित रही छलफल भएको थियो ।




Comments are closed.