काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब मुलुकमा वैदेशिक रोजगार व्यवसाय गर्ने व्यवसायीमा देखिएका विभिन्न समस्याहरुलाई समाधान गर्न पहल गरेको छ ।
यसैक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा महासचिव मेघनाथ भुर्तेल र सदस्य तथा साउदी अरब मामिला प्रमुख वैकुन्ठ पौडेलले नेपालका लागि साउदी राजदुत साद अबुहैमेदलाई भेटेर छलफल गरेका छन् । हाल साउदी अरब मुलुकमा कामदार पठाउन भएका कठिनाई तथा दुतावासले दिनुपर्ने सेवा सुबिधाका विषयमा छलफल भएको महासचिव मेघनाथ भुर्तेलले आर्थिक आवाजलाई जानकारी दिए ।
व्यवसायीहरुको ‘इन्जाजिट ब्लक’ तथा ‘आइडी कार्ड’ खोसिएको सम्वन्धमा राजदुतसँग छलफल भएको छ । जसको इन्जाजिट ब्लक भएको छ र आइडी कार्ड खोसिएको छ उनीहरुले आफ्नो पालो अनुसार दुतावासले माग गरेका आवश्यक कागजात सहित दुतावासको कन्सुलर शाखामा सम्पर्क गर्न संघले आग्रहसमेत गरेको छ ।

साउदी दुतावासको आइडी कार्ड नभएका व्यवसायीहरुको हकमा नयाँ आइडी कार्ड बनाउन साउदी अरब मुलुकका रोजगारदाता कम्पनीबाट प्राप्त भएका मागपत्रको सक्कलप्रति सहित दुतावासको कन्सुलर शाखामा दुतावासबाट माग भए बमोजिम आवश्यक कागजात सहित सम्पर्क गर्न आग्रह गरिएको छ ।

साउदी अरब सरकारले पनि निकट भविश्यमा भिपिएस सिस्टम अनुसार भिसा प्रोसेसिङ गर्ने तयारी गरेको उक्त अवसरमा राजदुतले बताए ।




Comments are closed.