भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित तेलकोटमा ‘नगरकोट बेस क्याम्प रिसोर्ट’ सञ्चालनमा आएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका पर्यटन व्यवसायी अशोक थापाले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । यस अगाडि पर्यटन व्यवसायी कर्ण शाक्यको व्यवस्थापनमा सञ्चालित उक्त रिसोर्टलाई नयाँ व्यवस्थापनबाट थापाले सञ्चालनमा ल्याएका हुन् । केही वर्ष बन्द रहेको रिसोर्टलाई मर्मतसम्भार गरी पुनः सञ्चालन ल्याइएको हो ।
नगरकोट जाने आन्तरिक तथा बाह्य पर्यटकको लागि बीच बाटोमा बस्ने, खाने तथा आराम गर्ने ठाउँका रुपमा रिसोर्टलाई विकास गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए । १४ रोपनी जग्गामा रिसोर्ट सञ्चालन गरिएको छ । जहाँबाट काठमाडौं भ्यालीको दृश्य स्पष्टसँग देख्न सकिन्छ । ‘दृश्यावलोकन गर्दै मिठो स्वादका परिकारमा रमाउन यहाँ निकै राम्रो, सुन्दर र पारिवारिक वातावरण यहाँ छ,’ थापाले भन्छन्, ‘नगरकोट जाने र आउने क्रममा बाटोमा राम्रो रेष्टुरेन्टको अभाव भएकाले यो रिसोर्ट सञ्चालनमा ल्याएका हौं ।’ रेष्ट एण्ड रिफरेसका लागि रिसोर्ट उपयुक्त रहेको थापा बताउँछन् ।
नगरकोटका होटलहरुका बारेमा जानकारी लिन तथा आवश्यकता अनुसार होटल बुकिङ गर्नका लागि पनि आफूहरुले पर्यटकलाई सहयोग, परामर्श तथा सहजीकरण गर्ने थापाले जानकारी दिए । रिसोर्टमा ९ वटा रुम पनि छन् । रुमबाट पनि काठमाडौं भ्याली देख्न सकिन्छ । अब रिसोर्टमा हल बनाउने तयारी भइरहेको छ ।

थापासहितको टोलीले नगरकोटमा ‘निगालो बुटिक रिसोर्ट प्रा.लि.’ निर्माण गर्दैछन् । रिसोर्टको शिलान्यास भइसकेको छ । २ वर्षभित्र उक्त रिसोर्ट सञ्चालनमा आउने थापाले जानकारी दिए । नगरकोट क्षेत्रकै उत्कृष्ट होटल निर्माण गर्ने लगानीकर्ताहरुको लक्ष्य छ ।
र यो पनि,




Comments are closed.