सिबी अधिकारी/काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज अपराह्न नारायणहिटी दरबार परिसरको ‘गणतन्त्र स्मारक’ पार्क, नारायणहिटी दरबार सङ्ग्रहालय र श्री सदनको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।
मन्त्री ढकालले क्रमशः स्मारक र श्री सदनपछि दरबार सङ्ग्रहालयको अवलोकन गरे । उनले सङ्ग्रहालय, स्मारक र श्री सदनभित्र राखिएका सामग्री र विषय वस्तुबारे जानकारी लिए । मन्त्री ढकाललाई सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल र सूचना अधिकृत बुद्धिबहाजुर गुरुङले त्यहाँका सामग्रीको जानकारी गराए । नारायणहिटी परिसरमा करिब तीन घण्टा बिताएका मन्त्री ढकालले गणतन्त्र स्मारक र सङ्ग्रहालयको एकीकृत विकास गर्नसके स्वदेशी तथा विदेशी नागरिकका निम्ति उपयुक्त गन्तव्यको रुपमा स्थापित हुने बताए । अवलोकन भ्रमणपछि रासससँग संक्षिप्त कुराकानी गर्दै मन्त्री ढकालले सङ्ग्रहालयका समस्याबारे बुझेर यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने सरकारको योजना रहेको बताए ।
उनले भने, “सङ्ग्रहालयको अभावका साथै ऐतिहासिक पृष्ठभूमिको जानकारी लिएको छु । स्मारक र सङ्ग्रहालयसँग सम्बन्धित विषयको एकीकृत विकास गरी स्वदेशी तथा विदेशी नागरिकका लागि नेपालको इतिहासबारे जानकारी गराउनुका साथै पछिल्लो पुस्तालाई ज्ञान दिने स्थानका रुपमा स्थापित गराउन सकिन्छ ।”

मन्त्री ढकालले सङ्ग्रहालयलाई पुरानै अवस्था र अहिलेको आवश्यकतालाई पनि समेट्ने गरी सङ्ग्रहालयको विकास गरिनुपर्नेमा जोड दिए । उनले सरकारको नीति तथा कार्यक्रम र आगामी आबको बजेट आउने सन्दर्भमा भएको आफ्नो भ्रमणले सङ्ग्रहालयको अभावलाई पूर्ति गर्ने तथा यसलाई परिस्कृत ढङ्गले सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यका साथ सङ्ग्रहालय बनाइएको र यसको विकास र व्यवस्थापनलाई प्रभावकारी बनाइने उनले बताए । सङ्ग्रहालयको बृहत्तर विकासका लागि आवश्यक काम अघि बढाउन बजेट तथा स्रोत साधनको परिचालन गरेर नमूना सङ्ग्रहालय बनाइने जानकारी उनले दिए ।
दुई सय ३८ वर्ष लामो राजतन्त्र ढलेर देश गणतन्त्रमा गएको करिब ११ वर्षपछि गणतन्त्र स्मारक स्थापना गरिएको थियो । विसं २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएपछि राजतन्त्र इतिहास बनेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाह नारायणहिटी छाडेर नागार्जुन दरबारमा बस्दै आएका छन् । नारायणहिटी दरबारलाई भने सङ्ग्रहालय बनाएर सर्वसाधारण जनताका लागि खुला गरिएको छ । सङ्ग्राहलयभित्र तत्कालीन राजाले प्रयोग गरेका विभिन्न सामग्री राखिएका छन् । आगन्तुकले नारायणहिटीको मुख्य भवनभित्र छिरिसकेपछि तत्कालीन राजाहरूले प्रयोग गर्ने विभिन्न वस्तुहरूको अवलोकन गर्न पाउँछन् । राजाले पहिरिने श्रीपेचदेखि उनीहरूको शयन कक्ष पनि हेर्न पाइन्छ । यही दरबारको जग्गामा सरकारले गणतन्त्रको प्रतीक ‘गणतन्त्र स्मारक’ बनाएको हो ।
नारायणहिटी दरबारको पूर्वी भागमा ३५ रोपनी क्षेत्रफलमा स्मारक बनाइएको छ । स्मारकभित्र पार्कदेखि भूमिगत हल छ । स्मारकमा चार वटा मुख्य खम्बाहरू छन् ।स्टीलका खम्बाले गणतन्त्र प्राप्तिका लागि शहीदले गरेका बलिदानीको प्रतिनिधित्व गर्छन् । जमीनमुनि दुईटा हल छ, एउटामा कार्यक्रम गर्न मिल्छ भने अर्कोमा गणतन्त्रसँग सम्बन्धित फोटो सामग्री राख्ने ग्यालरी छ । भुई तलामा जातीय सङ्ग्रहालय बनाइनेछ । दुई वर्षअघि करिब रु ४५ करोड लागतमा स्मारक बनाइएको थियो ।
नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन केही महिना अघि मात्रै सर्वसाधरणको लागि खुला गरिएको थियो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधरणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको थियो । श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै ‘डाइनिङ’ रुम र ‘वार’ कक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्या, निराजन र श्रुतिको सयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ । ऐश्वर्याको पूजा कोठामा देवताको मूर्ति सजाइएको छ । तेस्रो तलाको भ¥याङ उक्लिनासाथ बाटोमा पूर्व अधिराजकुमारी श्रुतिले तयार पारेको चित्र राखिएको छ । राजा वीरेन्द्र, ऐश्वर्या, श्रुति र निराजनको नुहाउने कोठा, शृङ्गार कोठा, सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सामग्री सजाएर राखिएको छ । ऐश्वर्याको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा छ ।
मन्त्री ढकालले स्मारक र श्री सदनपछि दरबार सङ्ग्रहालयको अवलोकन गरे । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो । नारायणहिटी अवलोकनमा आन्तरिक तथा विदेशी पर्यटकको उल्लेख्य सहभागिता छ । सङ्ग्रहालय भित्रका ५२ मध्ये ३१ कक्ष प्रदर्शनीका लागि खुला गरिएको छ ।




Comments are closed.