विदेशमा सीप, नेपालमा लगानी

चितवन । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो ।

रामग्राम नगरपालिका–५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले स्वदेश फर्किएर त्यहाँको सीपलाई यहाँ प्रयोगमा ल्याएको हो । मुस्ताङको धवलागिरि टेक्निकल स्कूलमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन र गोकर्णथली रिसोर्टको प्रयोगात्मक कक्षाले सन २००९ मा उनलाई रोजगारीका लागि बेलायत पुर्याएको हो । त्यहाँको छ वर्षको होटल रेष्टुरेन्ट क्षेत्रको जागिरपछि उनी स्वदेशमै केही गर्ने अठोटका साथ फर्के ।

पौडेलले भने, “फर्कनासाथ मैले पशुपालन गर्ने सोचले गुरु कृषि तथा पशुपालन फार्म खोलेँ । यससँगै होटल व्यवसाय पनि शुरु गरेँ ।” रामग्राममा दुई कठ्ठा जमिन खरिद गरेर रु दुई करोडभन्दा बढीको लगानीमा गुरु ग्रिनरी रेष्टुरेन्ट एण्ड लज उनले शुरु गरे । निरन्तरको मेहेनतसँगै उनले त्यहाँबाट राम्रो सफलता हात पारे । पौडेलले भने, “वार्षिक रु २० लाख हाराहारी आम्दानी हुने गर्छ ।” पहिलो होटल राम्रो सञ्चालनमा आएसँगै उनले गत साताबाट नारायणी किनार गैँडाकोटमा गुरु ग्रिनरी फुड पार्क शुरु गरेका छन् ।

footwear zone

गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिसक्याम्प जाने सडक नजिकै नारायणीको भङ्गालोसँग जोडिएको उहाँको होटल फरक शैलीमा निर्माण गरिएको छ । फरक–फरक कटेजहरुसँगै बगरमाथि बसेर हरियालीमा रमाउँदै खानका लागि ठाउँ बनाइएको छ । भाडामा जग्गा लिएर रु ४५ लाख लगानी गरी खोलिएको पौडेलको दोस्रो यस होटल अन्यभन्दा पृथक रहेको छ । माटाका भाँडामा खसीको मासु पकाएर फरक स्वादका साथ ग्राहकलाई पस्कने उनको भनाइ छ । यससँगै लोकल कुखुरा, हाँसको स्वाद पनि ग्राहकलाई दिँदै आइएको छ ।

श्रीमती सुजता र भाइ युवराजसँगै सिङ्गो परिवार यसै पेशामा जुटेको छ । परिवारबाहेक पनि दुई ठाउँमा १६ जनाले रोजगारी पाएका छन् । उनी भन्छन्, “अब हेटाँैडामा अर्को होटल खोल्ने योजनामा छु ।” बेरोजगार भएँ भन्नेहरुका लागि मात्र होइन विदेशमा रहेका नेपालीका लागि पनि उदाहरणीय बनेका पौडेल निरन्तर मेहेनत गर्न सकेमा यहीँ धेरै गर्न सकिन्छ भन्छन् । यस पेशामा मिठो बोल्ने र इमान्दार हुनसकेमा सफलता मिल्ने उनको अनुभव छ । देशैभर व्यवसाय विस्तार गर्ने उनको सोच छ । पौडेलले भने, “एकपटक मकहाँ छिर्ने ग्राहकलाई अर्कोपटक आउने म आफैँ बनाउन सक्छु ।” हँसिलो अनुहार र नम्र बोली मात्र होइन मिठो परिकार एवं आतिथ्यता पौडेल सफल हुनुको कारण भएको उनका शुभेच्छुकहरु बताउँछन् ।

You might also like

Comments are closed.