सेयर बजारमा झिनो सुधार : नेप्से २.८६ अंकले बढ्दा डेढ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन आज पनि सेयर बजार परिसूचक (नेप्से) सामान्य बढेको छ। साताको पहिलो र दोस्रो दिन घटेको नेप्से तेस्रो र आज चौथो दिन भने सामान्य अंकले बढेको छ ।

मंगलबार १ दशमलव ८५ अंकले बढेको नेप्से आज २ दशमलव ८६ अंकले बढेर दुई हजार ५७ दशमलव ८४ विन्दुमा पुगेको छ । आज दुई सय २३ वटा कम्पनीको ३६ लाख ७८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५२ करोड ६१ लाखमा कारोबार भएको छ। आज सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सातवटाको सूचक बढेर ६ वटाको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ५८ अंकले बढेर १३ सय ६४ दशमलव पाँच अंकमा पुगेको छ।

footwear zone

त्यस्तै, विकास बैंक समूहको सूचक आठ दशमलव सात अंकले बढेर तीन हजार सात सय ४५ दशमलव १९ अंकमा पुगेको छ। जलविद्युत समूहको सूचक पनि ११ दशमलव ६१ अंकले बढेर दुई हजार चार सय ६४ दशमलव ९८ अंकमा, जीवन बीमा समूहको सूचक ६३ दशमलव ३१ अंकले बढेर नौ हजार चार सय ८१ दशमलव २७ अंकमा पुगेको छ। यीबाहेक आज होटेल तथा पर्यटन, लघुवित्त र लगानी समूहको सूचक पनि बढेका छन् ।

निर्जीवन बीमा समूहको सूचक भने १५ दशमलव १७ अंकले घटेर आठ हजार एक सय ९९ दशमलव ६९ अंकमा झरेको छ ।

You might also like

Comments are closed.