कोभिडमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्णः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकताको क्षेत्र रहेकाले यसको सेवामा कुनै अवरोध हुन नहुने धारणा राखे ।

“यसको सेवा विस्तार र पूर्वाधार तयारीका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भने, “यसका लागि निजी क्षेत्रको छाता संगठनका हैसियतले नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नेछ ।”

footwear zone

वरिष्ठ उपाध्यक्ष ढकालले इमेल इन्टरनेटका कारणले कुरियर सेवा छायाँमा परेको जस्तो देखिए पनि यसको महत्वमा कहिल्यै कमी नआउने उल्लेख गरे । व्यापार व्यवसायमा मात्र नभई आम सर्वसाधारण समेतलाई सेवा दिइरहेको कुरियर सेवा ओझेलमा परेको उल्लेख गर्दै उनले संसारका विकसित मुलुकमा यसको महत्वमा कहिल्यै कम नआएको र नेपालले पनि संरक्षण र सम्बद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।

ढकालले कुरियर सेवा संघमा सर्वसम्मत नेतृत्व चयन हुनु स्वागतयोग्य रहेको उल्लेख गर्दै यसका लागि संघ नेतृत्वको पहल सह्रानीय रहेको बताए । उनले आफूले सुरुवाती दिनमा कार्गो र कुरियर क्षेत्रबाटै व्यवसाय सुरु गरेको स्मरण गर्दै यस क्षेत्रले भोग्नुपरेका समस्या आफूले महशुस गर्नसक्ने धारणा राखे ।

आफूले व्यवसाय सुरु गर्दाका अनुभव सुनाउँदै उनले सुरुवाती दिनमा व्यवसायमा समस्या रहे पनि निरन्तर लागिरहे एक दिन अवश्य सफल हुनसकिने बताए । कुरियर व्यवसायमा पहिले अस्वस्थ प्रतिस्पर्धासमेत हुने गरेको स्मरण गराउँदै उनले व्यवसायीलाई सेवामा कुनै सम्झौता नगर्न आग्रह गरे । सेवाशुल्क र अन्य शुल्क पारदर्शी हुनुपर्ने उनको भनाइ छ । संघको २७ औं वार्षिक साधारणसभाले देवेन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

You might also like

Comments are closed.