शीतभण्डारको आलु अनुगमन    

सुशीला रेग्मी/रामपुर(पाल्पा) ।   रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञ श्याम ढकालले अनुगमन गर्नुभएको छ ।

तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृतको रुपमा काम गरेका उनि अहिले उम्रिएको आलु रोप्दा उत्पादन घट्ने समस्या नरहने बताउछन् । “आलु उम्रिहाल्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर आलु भण्डारणमा ढिलाइ हँुदा यो समस्या आएको हो, खनेको १५ देखि २० दिनभित्रै भण्डारण गर्नुपर्नेमा करिब दुई महिनापछि मात्रै भण्डारण हुँदा समस्या निम्तिएको हो”, आलुविज्ञ ढकाल भन्छन् ।

देशका ठूला शीतभण्डारणमा पनि यस्तो समस्या देखिएको छ तर समयमै आलु भण्डारण नहुनु, भण्डारणको सापेक्षिक आद्रता नाप्ने मात्रा समयमै नराख्नुजस्ता कारणले समस्या देखिएको उनि बताँउछन् । उम्रिएको आलु बोराबाट झिकेर टुसा पारेर फेरी बोरामा भण्डारण गरी राखेमा उत्पादनमा ठूलो असर नहुने आलुविज्ञ ढकालको भनाइ छ ।

footwear zone

उनि भन्छन्, “भण्डारण गरिएका आलुका बोरालाई बेला बेलामा तलमाथी पारेर राख्नुपर्ने थियो, पहिलो वर्ष सञ्चालनमा ल्याइएकाले पनि रेखदेख गर्ने नियमित दुई प्राविधिक हुनुपर्ने र भण्डारण गर्नुअगावै सरसफाइ गरेर आलु बोरामा राख्नुपर्नेमा त्यसै राखिएकाले पनि समस्या देखिएको छ ।” गत वैशाख तेस्रो सातामा सञ्चालनमा ल्याइएको यहाँको शीतभण्डारमा करिब एक हजार ४०० क्विन्टल आलु राखिएको छ । शीतभण्डार निर्माणमा भएको ढिलाइका कारण उपयुक्त समयमा आलु भण्डारण गर्न नसक्दा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउछन् ।

कृषकको आलु बिग्रिएर प्रयोग गर्न नमिल्ने भए बजार मूल्य हेरेर क्षतिपूर्तिको व्यवस्था गरिने रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउछन् । आलु लगाउने समयसम्म शीतभण्डारमै सुरक्षित साथ भण्डारण गरेर राखिने हँुदा कृषकलाई नआत्तिन नगर प्रवक्ता न्यौपानेको अनुरोध छ ।

राष्ट्रिय समाचार समिति (रासस) मा यही असोज १४ गते ‘शीतभण्डारको आलु बिग्रियो, किसानले मागे क्षतिपूर्ति’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । कृषकले भने आलु टुसा पलाएर लामा लामा हुँदा रोप्ने समय अझै नभएकाले उत्पादनमा ह्रास आउने चिन्ता व्यक्त गरेका छन् । खेतमा धान बाली थन्क्याएर मात्रै आलु लगाइने भएकाले धान नपसाउँदै टुसाएको, आलु भण्डारण गरेर राख्दा खाद्यतत्व सबै नाश हुने कृषक लेखनाथ रेग्मी बताउछन् ।

बीउ आलुबाट राम्रो कमाई हुने भएकाले विगत सात वर्षदेखि व्यावसायिक आलु उत्पादन गरेकी यमकान्ती गौतम यहाँ भण्डारण गरिएको आलु लगाउन योग्य नहुने कुरा सुनेपछि चिन्तित छन् । “प्राविधिकले टुसाए पनि आलु लगाउन हुने बताए पनि अझै करिब दुई महिना आलु लगाउन बाकी भएकाले त्यतिञ्जेलसम्म आलुको खाद्यतत्व सबै नास हुनेछ, हामी व्यावसायिक खेती गर्ने कृषकलाई ठूलो मार परेको छ, हामीलाई नबिग्रएको गुणस्तरिय बीउ आलु नै चाहिन्छ”, उनको गुनासो छ ।

रामपुर क्षेत्रमा उत्पादन हुने कृषिजन्यउपजलाई सुरक्षित साथ भण्डारण गर्नाका लागि कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको अनुदानमा रविना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्तरुपमा रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा ठेक्का लिएर निर्माण गरेको हो ।

फरक किशिमका पाँच कोठाका साथै दुईतले दश कोठासहितको प्रशासनिक भवन, अपाङ्गमैत्री शौचालय रहेको शीत भण्डारणको दुई कोठामा आलु गरिएको छ । कृषिउपज भण्डारण गर्न प्रतिकिलो रु छ शुल्क कायम गरिएको छ । नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्र आह्वामार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजार दिनेगरी एक वर्षको लागि रेखदेख गर्न सम्झौता गरिएको थियो ।

 

You might also like

Comments are closed.