सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले नजिकिँदै गरेको दसैँ तिहारलगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको छ ।
चाडपर्वमा बढी सामानको माग र खपत हुने भएको हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या नहोस् भन्ने उद्देश्यका साथ स्थानीय प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो ।
चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य र सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरोस् भन्दै अनुगमलाई तीव्र पारिएको बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राइले बताए । उनका अनुसार दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरी आज बजार अनुगमन गरिएको हो । यसअघि गत भदौ ११ गते बजार अनुगमन गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी राईको संयोजकत्वमा गएको टोलीले मंगलबार बिहान ९ बजे जिल्लाका खुद्रा तथा मासु पसलको अनुगमन गरेको छ । अनुगमन गरिएका १० वटा खुद्रा तथा मासु पसलमध्ये नोबेल जनरल स्टोर तथा फ्रेस हाउस पसलमा म्याद गुज्रिएको तीन पाकेट बिस्कुटबाहेक अन्य कुनै पनि पसलमा अखाद्य बस्तु नभेटिएको अनुगमन समितिका संयोजक राईले बताए ।
उनका अनुसार १० वटा पसल अनुगमन गर्ने क्रममा दुईवटा दर्ता नभएको, एउटा अनुमति प्रमाणपत्र नलिएको र एउटा नवीकरण नभएको पसल भेटिएको बताइएको छ । पसलेलाई पछिल्लो पटक अनुगमन गर्ने क्रममा यस्तो भेटिएमा कारबाहीसमेत हुने बताए । सिमकोट बजारमा नियमितरुपमा बजार अनुगमन गर्दा चौथो पटकमा निकै सुधारन्मुख रहेको सहायक प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ ।
अनुगमनमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सिमकोट गाउँपालिका, घरेलु उद्योग तथा हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ हुम्लाको समेत सहभागिता रहेको थियो । उक्त अनुगमन कार्य माथिल्लो गाउँमा रहेको तिन धारा र सञ्चार टोलका पसलमा गरिएको थियो ।




Comments are closed.