बोटमै उम्रन थाल्यो भिजेको धान

टीकापुर । लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको छ । किसानले भित्र्याउने समयमा एक्कासी आएको वर्षा तथा बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको हो । पानीले तीन/चार दिन भिजेको धानखेती सुक्न नपाउँदा खेतमै उम्रन थालेको किसान बताउँछन् ।

किसानले अहिलेसम्म मुठ्ठीभर पनि धान भित्र्याउन सकेका छैनन् । खेतको धान घरमा भित्र्याउन नपाउँदै भिजेर उम्रन थालेपछि खाद्यान्न सङ्कट हुने भन्दै चिन्ता लागेको टीकापुर वनगाउँकी अस्मिता चौधरीले बताइन् । घरमा यस वर्ष एक दाना पनि अन्न नभित्र्याउँदै बाढीले धान बगाएको र बाँकी रहेको धान पनि खेतमै उम्रन थालेको उनले बताइन् । “यस वर्ष अन्न सङ्कट मात्र होइन, हामी भोकमरीले मर्ने देखिएको छ”, उनले भनिन्, “खेती गरेर जीविका चलाउने हामी अब के खाएर बाँच्ने होला ? अनि घर खर्च कसरी चलाउने होला ?”

टीकापुरमा आठ हजार ७१३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । टीकापुरमा बाढीले पाँच हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको नगरपालिकाको कृषि शाखाका प्रमुख केशव भट्टले बताए । “किसानको वास्तविक लगत लिने कार्य भइरहेको छ, सोहीअनुसार नगरपालिकाले राहतको व्यवस्थापन र पहल गर्ने छ”, उनले भने, “घर भित्र्याउने बेला खेतमै धान नोक्सान भएपछि किसान निकै दुःखी भएका छन् ।” रासस

footwear zone

You might also like

Comments are closed.