बनेपा । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्रमध्येको नमोबुद्ध, पनौती र धुलिखेल नगरपालिकालाई लक्ष्य गरी सञ्चालनमा ल्याएको ‘सुरक्षित पर्या–पर्यटन’ सम्बन्धी उच्चस्तरीय बैठक शनिबार नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ ।
‘नेपालमा विपद् जोखिम संवेदनशील पर्यापर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसँग साझेदारी परियोजना’अन्तर्गत पर्या–पर्यटन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्य गरिने छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा विसं २०७७ असोजबाट सुरु भएको सो परियोजना यही कात्तिक १३ गतेदेखि सम्पन्न हुने बताइएको छ ।
सो परियोजनाअन्तर्गत वातावरण तथा बाल सरोकार संस्था नेपाल ९इको नेपाल०को साझेदारीमा काभ्रेपलाञ्चोकका तीन नगरपालिका (धुलिखेल, पनौती र नमोबुद्ध) तथा भक्तपुरको चाँगुनारायण गरी चारवटा पालिकामा सञ्चालनमा आएको थियो । चाँगुनारायण–नगरकोट–बनेपा–धुलिखेल र नमोबुद्ध हुँदै पनौतीको बल्थलीसम्मको पदमार्गलाई लक्ष्य गरेर परियोजना सञ्चालन गरिएको हो ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले नेपाली मौलिकता झल्कने तथा वातावरणमैत्री पर्यटन पूर्वाधारको निर्माण, आवश्यक पदमार्गको पहिचान र सञ्चालन तथा पर्यटकका लागि सेवा सुविधा वृद्धि गर्नसके पर्यटनबाटै समृद्धितर्फ जान सकिने बताए ।
विसं २०७२ को भूकम्पपछि पर्यटन क्षेत्रले धेरै क्षति भोगेको बताउँदै उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ आधार खडा गर्नुपर्नेमा जोड दिए । चारवटा पालिकाबीच भएको अहिलेको सहकार्यले प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गर्न मद्दत पुगेको प्रमुख ब्याञ्जूले बताए । इको नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाबाट समृद्ध नगर कसरी बनाउन सकिन्छ भन्ने आधार प्रष्ट भएको र अब पालिकाले सोहीअनुसारका कार्यक्रम र बजेट तर्जुमा गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले चारवटा नगरपालिकाबीचको सहकार्यबाट सुरु गरिएको पर्या–पर्यटन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमले आगामी दिनमा पनि पालिकाबीचको सहकार्यले यो क्षेत्रमा पर्यटकीयस्थलको विकास र पर्यटक आकर्षित गर्न मद्दत पुग्ने बताए ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नमोबुद्धसहितका क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माणका काम तत्कालै सुरु गर्ने घोषणा गर्दै यसका लागि धुलिखेल, पनौतीलगायतका नगरपालिकासँग सहकार्य हुने बताए ।
बैठकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदी, इको नेपालका कार्यकारी निर्देशक अनिता न्यौपानेले परियोजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । बैठकमा धुलिखेल नगरपालिका उपप्रमुख बिमलाकुमारी चौलागाईँ शर्मा, पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीलगायतको सहभागिता थियो ।
नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सो बैठकले परियोजनाका विषयमा यही कात्तिक १२ गते धुलिखेलमा राष्ट्रिय कार्यशाला गोष्ठिको आयोजना गर्ने निर्णय गरेको छ ।




Comments are closed.