कर्णाली । मालपोतसम्बन्धी लिखत तयार गरेबापत भू–सेवा केन्द्रले लिने सेवा शुल्क निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा मालपोत, लेखापढी कानुन व्यवसायीका प्रतिनिधि र भू–सेवा केन्द्र सञ्चालकहरुको संयुक्त बैठकले शुल्क निर्धारण गरेको मालपोत कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतमा अनुमति पाएका १०० भूसेवा केन्द्रमध्ये ८० वटाले मालपोतसम्बन्धी सेवा दिइरहेका छन् । आफूखुसी शुल्क लिँदै आएका भू–सेवा केन्द्रले अब सेवाग्राहीबाट कामको प्रकृतिअनुसार निर्धारित शुल्क मात्र लिन पाउनेछन् । मालपोत कार्यालय सुर्खेतका प्रमुख जनकबहादुर हमालले नयाँ निर्धारित सेवा शुल्क आइतबारदेखि लागू हुने जानकारी दिए ।
“भू–सेवा केन्द्रहरुले मनोमानी शुल्क असुलेको गुनासो थियो, अहिले निर्धारण गरिएको शुल्क यसअघि लिँदै आएको भन्दा झण्डै आधा कम छ,” उनले भने, “अब सेवाग्राही ठगिने समस्या अन्त्य हुनेछ ।”

मालपोत कार्यालयका अनुसार भू–सेवा केन्द्रले अंशबन्डाको लिखत गर्दा रु दुई हजार तीन जनाभन्दा बढी अंशियारको हकमा प्रतिअंशियार थप रु २ सय, अंश बुझेको भर्पाईमा रु एक हजार ५ सय तीन जनाभन्दा बढी अंशियारको हकमा प्रतिअंशियार थप रु २ सय, बकसपत्र, छोडपत्र, दर्ताफारी, दानपत्र, राजीनामा, नामसारी र सट्टापट्टासम्बन्धी लिखितको रु एक हजार ५ सय निर्धारण गरिएको छ ।
त्यस्तै रोक्का–फुकुवाअन्तर्गत पत्रका आधारमा ठाडो रोक्काको लिखतको रु ५ सय, दृष्टिबन्धकी (लिखत पारित) रु एक हजार र त्यसको प्रिन्ट गर्नुपरेमा थप रु ३ सय, व्यक्तिगत दृष्टिबन्धकीको रु एक हजार ५ सय, दाखिला खारेजअन्तर्गत अदालतको फैसला, मिलापत्र तथा लिलामको लिखत बनाएको रु एक हजार तोकिएको छ । कित्ता एकीकरण, स्रेस्ता अद्यावधिक, लगतकट्टा, संशोधन, प्रतिलिपि प्रक्रियाको लिखत तयार गरेबापत प्रत्येक सेवाको रु ५ सय शुल्क निर्धारण गरिएको छ । अन्य साधारण निवेदनको भने रु ३ सय शुल्क तोकिएको छ ।





Comments are closed.