व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा चुनौती

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताएका छन् । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको दसौँ साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले व्यवसायी मैत्री ऐन नियम जारी नभए महासंघ सङ्घर्षमा उत्रने बताए । खरिद ऐन संशोधनको अन्तिम प्रक्रियमा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायी मैत्री बनाउन महासंघ नेतृत्वले इमान्दार प्रयास गरिरहेको अध्यक्ष सिंहले बताए ।

महासंघका सल्लाहकार तथा पूर्वाध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमान्दार प्रयास आवश्यक भएको धारणा राखे । लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए ।

महासंघका अर्का सल्लाहकार तथा पूर्वाध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेसागत हकहितका लागि सबै एक हुनुपर्ने विचार राखे । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जुध्दै निर्माण व्यवसायीले उत्कृष्ट काम गरिरहेको बताए । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजकसमेत रहेका उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

footwear zone

महासंघका महासचिव रोशन दाहालले एसोसिएट सदस्यहरू संस्थाको ‘मुटु’ भएको बताए । एसोसिएट सहसंयोजक रामजी पन्त ‘मुकेश’ ले व्यावसायिक एकता आजको आवश्यकता भएको बताए ।

भेलामा एसोसिएट सचिव नवराज श्रेष्ठ, कोषाध्यक्ष शिव भट्टराई ले आ—आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका थिए । निर्माण उद्योगमा विशिष्ट योगदान दिने अग्रज एसोसिएट सदस्य निर्माण व्यवसायीलाई भेलामा सम्मान गरियो । सोही भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यान्वयन समितिका अध्यक्ष इन्जिनीयर केशवकुमार शर्माले बोलपत्रमा लो—बिड तथा बीमा विज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बीमाका सम्बन्धमा आफ्नो प्रस्तुति राखेका थिए ।

You might also like

Comments are closed.