पिली बस्तीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा

मान्म । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीको बस्तीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । पिलीलाई कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । ‘फनबोर्ड’, ‘युनिसेफ’ र नगरपालिकाको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र ‘हुरेन्डेक’ कालीकोटको प्राविधिक सहयोगमा पिलीका दुईवटा खानेपानी योजना सम्पन्न भएपछि बस्तीमा सुरक्षित खानेपानी आपूर्ति हुँदै आएकाले सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।

सुरक्षित खानेपानीयुक्त घोषणा भएको यो वडा कर्णाली प्रदेशको दोस्रो वडा हो । यसभन्दा अघि सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा वडालाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको थियो ।

‘मेजरपाखा खानेपानी आयोजना’ र ‘भेराखोला खानेपानी आयोजना’ सम्पन्न भएपश्चात पिलीका १७५ घरधुरीमा सुरक्षित मिटरसहितका खानेपानीका धारा, जडान गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ । पिलीका बासिन्दाले खानेपानीको अभाव झेल्नु नपर्ने वडाध्यक्ष रजबहादुर मल्लले बताए । “धेरै चुनौतीबीच सुरक्षित पानी प्राप्त गर्ने अवस्था आएको छ”, उनले भने, “खानेपानीको समस्या भएको ठाउँमा सुरक्षित तरिकाले स्थानीयवासीलाई खानेपानी पु¥याउनु ठूलो उपलब्धि हो ।”

footwear zone

स्थानीय सरकार र लगानीकर्ताको मनदेखिको सहकार्यले खानेपानीको समस्या हल गरिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । “दुईवटा खानेपानीका आयोजना सम्पन्न गर्न रु ७१ लाख ५० हजार खर्च भएको छ”, उनले भने, “यसअघि पिलीमा एक घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।” गाउँमा खानेपानीको समस्या हुँदा टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता अहिले हटेको र घरघरमै धाराको पानी प्रयोग गर्न पाएको स्थानीयवासी रामबहादुर कार्कीले बताए ।

You might also like

Comments are closed.