झिनियाँबाटै एक सिजनमा छ लाख रुपैयाँ आम्दानी    

खेमराज गौतम/गलकोट ।  हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइराखेकी छन् ।

तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ तर, बागलुङ बजारमा सर्वाधिक झिनियाँ मीराले उत्पादन गर्दै आएकी छन् । उनले दसैँ अघिदेखिबाट रु चार लाखको झिनियाँ र तयारी अन्य रोटी बिक्री गरिसकेको बताइन् । तीन घण्टामा १०० दर्जन झिनियाँ उत्पादन गर्दै आएको मीराको भनाइ छ ।

“पहिलेजस्तो नाफा त छैन तर सात/आठ वर्षदेखि झिनियाँ बनाउँदै आएकी छु एकै सिजनमा रु आठ लाखसम्म कारोबार गरेको थिएँ, पछिल्ला वर्षमा झिनियाँको व्यापार केही घटेको छ, अहिले एकै सिजनमा रु ६ लाखको कारोबार हुने अपेक्षा छ”, मीराले भनिन्, “रु चार लाखको बिक्री भइसक्यो, दुई लाखका झिनियाँ र तयारी रोटी बिक्रीका लागि तयारी भइरहेको छ ।”

footwear zone

नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ । बागलुङका उद्यमीले दसैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँ रोटी बनाइराखेको मीराले बताइन् । बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागतरूपमा झिनियाँ बनाउँदै आएकी मीराले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताउछिन् ।

अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । मीराले तीन वर्षदेखि रु एक लाखको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गरेकी छन् । तिहारमा दाजुभाइलाई सप्तरङ्गी टीकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमी विभिन्न रङका झिनियाँ निर्माण गर्न व्यस्त छन् । उद्यमी मीराले मरेपिपलामा अन्य महिलाले झिनियाँ बनाउन विस्तारै छोड्दै गए पनि आफूले व्यवसायलाई विस्तार गर्दै लगेको बताइन् ।

उनका अनुसार थोकमा मूल्यमा सोना चामललाई रु एक हजार ३७० खरिद गर्ने गरिएको छ । एक बोरा चामलबाट करिब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । थोक मूल्यमा झिनियाँको एक दर्जनको रु १०० र फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका उद्यमी यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त देखिन्छन् । दसैँपछि मौसम राम्रो भएका कारण झिनियाँको उत्पादन राम्रो भएको मीराको भनाइ छ ।

दसैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी रु ६०, फिनी रोटी ६०, भेली रोटीलाई ५० र नमकिन रोटीलाई ५० मा बिक्री गर्दै आएकी छन् ।

You might also like

Comments are closed.