प्रविधिले बिर्सायो तिहारको मौलिकता    

ध्रुवसागर शर्मा/गलेश्वर ।  प्रकृतिसँंग मानिस रम्ने चाड हो तिहार । शारद याममा वातावरण नै उल्लासमय बनिरहेको छ । घर वरिपरि ढकमक्कै फुलेका सयपत्री र मखमली फूलले प्रकृति सिङ्गारिएको छ । विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीेले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।

युवापुस्तामा आयातित संस्कृतिको प्रभावमा पर्दै गएकाले सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्हरु बताउँछन् । नेपालीका लागि दसैँपछिको दोस्रो ठूलो चाड तिहारमा पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो । दसैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिसहरु रमाउने गर्दछन् ।

पं नीलकण्ठ आचार्यका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुशी बनाउने रोमाञ्चक चाड हो तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको छ । आधुनिकतासँगै तिहारमा पनि अनेक खालका विकृति देखिन थालेको उनको भनाइ थियो ।

footwear zone

माटाको दियो र भोगटेको पातमा बत्ती बालेर जिम फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर अहिले भने जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । म्याग्दीको ज्यामरुककोटका ८५ वर्षीय रणबहादुर घिमिरे भन्छन्, “यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर जिम फाल्ने विधान र तिहारको मौलिकता रहादैन ।”

माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलिमिली बत्तीमा मनाइने तिहारको मौलिकता अब कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाहरू बताउँछन् । अचेल माटोको पाला पूजाकोठामा मात्र सीमित भएको छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ । यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रूपमा घरको मूलढोकामा हालिने तेलको धाराले प्रतीकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूलढोकामा तेलको धारो हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको बृद्ध घिमिरेले बताए । “ओखर फोरिन्थ्यो, तेलको धारा हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो”, उनले भने– “अब ती सबै कुरा हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।”

मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुरासमेत पत्तो हुँदैन । युवापुस्ताका दिदीबहिनीहरू पनि सूचना र प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनीहरू पनि बेफुर्सदिला हुने गरेकाले झण्झटिला कामप्रति उनीहरुको रुचि घट्दै गएको छ । सूचना र प्रविधिले विश्वलाई नै साँघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पु¥याइदिएको छ ।

फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ तर उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको बताउछन् मंगला गाउँपालिका अर्मनका खडानन्द सापकोटा । उनका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत छन् अर्मनकै रसिला जैसी पनि ।

“पहिला–पहिला दिदीबहिनी भेला भएर तिहार सुरु हुनेबित्तिकै भाइमसला खोजी गथ्र्यौँ, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउँथ्यौँ”, ६४ वर्षीया जैसीले भने, “अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।”

 

 

You might also like

Comments are closed.