केराको एउटै बोटले बनायो व्यवसायी

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाए । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने निधो गरे ।

गल्याङ– ११ दिमिकस्थित आफ्नै खेतमा परीक्षणका लागि लगाएको थप केराका बोटबाट राम्रैसँग उत्पादन दिन थालेकाले आठ वर्षअघि ‘आनन्द कृषि तथा पशुपालन फर्म’ दर्ता गरेका थिए । जग्गा जमिन भएर पनि सही सदुपयोग गर्न नसकिरहेका बेला त्यो एउटै बोटको केराले आफूलाई व्यवसायी बन्ने प्रेरणा मिलेको उनले बताए ।

“जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग गर्न सकिरहेका थिएनौं” भट्टराईले भने, “धान, गहुँ, मकैलगायत बालीबाट भन्दा केराबाट राम्रो आम्दानी गर्न सकिने ठानेर केरा खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ ।”

footwear zone

सुरुका वर्षमा झण्डै रु चार लाखको लगानीमा केरा खेती सुरु गरेका उनले दोस्रो वर्षदेखि वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । केरा खेती नै भट्टराईको अहिलेको मुख्य आम्दानीको स्रोत बनेको छ ।

“केरा जति मात्रामा उत्पादन भएपनि बजारीकरणका लागि अहिलेसम्म कुनै समस्या छैन” उनले भने, “यहाँ उत्पादन भएको केरा नजिकैको गल्याङ बजारमा खपत हुँदै आएको छ ।”भट्टराईको फर्मअन्तर्गत अहिले ‘झापाली मालभोग’ ‘विलियम हाईब्रेड’ र ‘जी नाईन’ जातका पन्ध्र सयभन्दा बढी केराका बोट छन् । व्यावसायिक हिसाबले ठूलो मात्रामा केराखेती गरेका उनको फर्ममा केरा खेतीकाबारेमा चासो दिनेहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । यहाँ आएर हेरेर, बुझेर फर्किएसँगै आ–आफ्नो ठाउँमा फर्केर व्यावसायिकरूपले केराखेती थाल्नेहरू प्रशस्तै रहेका उनले जानकारी दिए । केराखेती थालेपछि आफूसहित स्थानीयवासीले पनि रोजगारी पाएको भट्टराईले जानकारी दिए ।

You might also like

Comments are closed.