“गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने, “नगरपालिकाले कृषकलाई हेरेन ।”
व्यास नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा गुनासो राख्दै उनि थप्छन्, “गत असार १२ गते नगरपालिकामा आएर अनुरोध गरेँ, बाँदरले दिएको दुःखका बारेमा जानकारी गराएँ, तर कुनै सुनुवाइ भएन ।” वर्षाले धान नष्ट हुँदा सरकारले क्षतिपूर्ति दिने सुनेपनि बाँदर आतङ्कबाट पीडित कृषकलाई नगरपालिकाले सम्बोधन नगरेको उनको गुनासो थियो । न्यौपानेले असारमा लगाउनुपर्ने धानको बीउ भदौमा मात्र पाएको, समयमै आलुको बीउ नपाएको गुनासो पनि राखे ।
विकास निर्माणमा पनि व्यास–५ र ६ लाई उपेक्षा गरिएको उनले आरोप लगाए । “हामीलाई त नगरपालिका छ र भन्ने अनुभूति नै छैन, विकासमा प्राथमिकतामा परेको छैन, मादीपारिको दुई वडालाई हेला गरिएको छ”, उनले भने । व्यास –२ का तेजबहादुर विश्वकर्माले घर निर्माणका क्रममा पहुँचवालाले मापदण्ड पालना गर्न नपर्ने तर पहुँच नहुनले सबै मापदण्ड पालना गर्नुपरेको गुनासो राखे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले फोहरमैला व्यवस्थापन, घरनक्साको मापदण्ड, विकास निर्माण, कृषकका समस्यालगायतका विषयमा गुनासो राखेका थिए । नगरवासीको गुनासो सम्बोधन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले फोहरमैला व्यवस्थापन, विकास निर्माणलगायतमा नगरपालिका गम्भीर भएर लागिपरेको बताए ।
फोहरमैलाको दीर्घकालीन व्यवस्थाका लागि व्यास–४ र १० को बीचमा पर्ने रानीपानी वनमा वातावरणीय अध्ययन भएको बताउँदै राष्ट्रिय वन भएकाले मन्त्रिपरिषद्बाट स्वीकृत गराउन बाँकी हुँदा ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले बाँदर पीडितलाई राहत दिँदा थेगिनसक्नुहोला भनेर राहत दिन नसकिएको जनाउँदै उनले भने, “व्यासका अधिकांश वडामा यसको समस्या छ, थेगिनसक्नु होला भनेर राहत दिन सकेका छैनौँ, तर केही सम्बोधन भने अवश्य गर्छौं ।” न्यौपानेले विकास निर्माणमा सबै वडालाई प्राथमिकता दिइएको बताउँदै समानुपातिक रुपमा वडामा बजेट विनियोजन गरिएको बताए ।
प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधानका कारण नगरपालिकाले नेपाल पत्रकार महासङ्घ तनहुँको सहकार्यमा सार्वजनिक सुनुवाइ गरेको हो । सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, विभिन्न वडाका अध्यक्ष, शाखाका प्रमुखले गुनासोको सुनुवाइ गरेका थिए ।




Comments are closed.