पर्यटकीय साझेदारी सम्बन्धमा छलफल

गण्डकी । बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारीलगायतका विषयमा पोखरामा छलफल भएको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)नेपालको निमन्त्रणामा नेपालको परिचयात्मक भ्रमणमा रहेको पाटा बंगलादेशका पदाधिकारीसहित त्यहाँका पर्यटन व्यवसायी र सञ्चारकर्मीसँगको भेटमा पर्यटकीय साझेदारी बढाउँदै कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु पर्नेमा जोड दिइयो ।

पोखरा पर्यटन परिषद्को आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पाटा नेपालको संयोजनमा आयोजित कार्यक्रमका वक्ताले कोरोना महामारीका कारण प्रभावित पर्यटनलाई साझेदारीका माध्यमबाट अघि बढाउन सकिएमा चाँडै नै पर्यटन क्षेत्रमा राम्रो सन्देश जाने बताए ।

पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले कोरोना प्रभावित पर्यटनलाई उठाउनु अहिलेको आवश्यकता भएको चर्चा गर्दै छिमेकी राष्ट्रबीचको पर्यटकीय साझेदारी अपरिहार्य भएको बताए । कोरोनाअघि नेपालमा वार्षिक २६ हजारको सङ्ख्यामा बंगलादेशका पर्यटक आउने गरेको उनले जानकारी दिए ।

footwear zone

पाटा बंगलादेशका अध्यक्ष शाहीद हमिदले नेपाल दृश्यावलोनका लागि आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै यहाँका हिमाली दृश्यले बङ्गलादेशका पर्यटकलाई लोभ्याउने गरेको बताए । नेपाल र बङ्गलादेशबीच पर्यटकीय सम्बन्धलाई बलियो बनाउनुपर्ने उनले धारणा राखे ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले एक देश र अर्को देशका व्यवसायीबीच हुने साझेदारीका कार्यक्रममले दुवैलाई फाइदा पुग्ने बताए । पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्माले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन यस किसिमका कार्यक्रम अपरिहार्य भएको बताउँदै व्यवसायीबीचको यो कार्यक्रम फलदायी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पाटा बंगलादेशका पदाधिकारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित १८ जना र पोखराका पर्यटन व्यवसायीको सहभागिता थियो ।

 

You might also like

Comments are closed.