पोखरा । कास्कीको मादी गाउँपालिका–५ चितेपानी देउराली आमा समूहलाई चितेपानी फाउन्डेसनले मौरीसहितको २८ घार वितरण गरेको छ ।
चितेपानी गाउँको विकासका लागि सो क्षेत्रका महिला तथा युवाहरुलाई आयआर्जन लक्षित कार्यक्रम गरेर आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको फाउन्डेसनले पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिए । “हामीले लामो समयदेखि गाउँको विकासलाई जोड दिँदै आएका छौं, आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आठ वर्षअघि विधिवत्रूपमा फाउन्डेसन स्थापना गरेर निरन्तर आयआर्जन र सीपमूलक तालिमहरुमा युवा तथा महिला समूहलाई सहभागी गराउँदै आएका छौं”, उनले भने ।
सानासाना कुराबाट पनि स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउने सकिने भन्दै फाउन्डेसनले सोहीअनुरुप कार्यक्रम गर्दै आएको उनले बताए । उनका अनुसार मौरी विज्ञ सूर्य लामिछानेबाट आमा समूलाई दुई दिनको तालिम प्रदान गरेर मौरीसहितको घार वितरण गरिएको हो ।

“हामीले टोपी र अन्य आवश्यक सामग्रीसहित रु १० हजार ७०० पर्ने मौरीसहितको घारलाई रु तीन हजार लिएर वितरण गरेका हौँ, आफ्नो पनि लगानी परेपछि उहाँहरुले त्यसको संरक्षण र उत्पादनमा पनि बढी चासो दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उनले भने । उनले कुनै पनि कुरा निःशुल्क मात्रभन्दा त्यसको महत्व अलि कम भएको पाएपछि केही शुल्क लिएर वितरण गरेको बताए ।
आमा समूहका अध्यक्ष सावित्रा सापकोटाले फाउन्डेसनले मौरीपालन तालिमसहित वितरण गरेको घारबाट आयआर्जन गर्न आफूहरु उत्साहित भएको बताए । “स्वास्थ्यका लागि निकै राम्रो मानिने मह र मौरीका बारेमा बल्ल राम्रोसँग थाहा पायौँ, अब व्यावसायिकरूपमै आयआर्जनको बाटो बनाउने ऊर्जा मिलेको छ”, सापकोटाले भने ।
मौरी विज्ञ लामिछानेका अनुसार मौरी गोला (नयाँ रानो उत्पादन)विभाजन गरेको चार महिनादेखि उत्पादन दिन सुरु गर्छ । एउटा घारमा १० वटा फ्रेम हुन्छन् भने एउटा घारबाट एक वर्षमा १५/१६ केजी मह उत्पादन हुन्छ । एक केजी मह गाउँघरमा रु एक हजार २०० मा बिक्री हुने गरेको छ भने बजारमा रु एक हजार ५०० केजीमा बिक्री हुन्छ । माग अत्यधिक भए पनि सोअनुसार उत्पादन हुन नसकेको र किरा पालेर हिरा बनाउन सक्ने स्रोत प्रशस्त भए पनि किसानले अझै यसको महत्व बुझ्न नसकेको उनले भनाइ छ ।




Comments are closed.