महाधिवेशनले बढ्यो भृकुटीमण्डपको व्यापार

काठमाडौं । भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ । शुक्रबारदेखि सुरुआत भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ ।

सो स्थानमा अन्य समयमा बिहान र साँझ व्यापार हुने भए पनि दिउँसो सुनसान हुने गरेको उनले बताइन् । उनले दैनिक रु १० देखि १५ हजारसम्मको व्यापार गर्दै आएकामा अहिले झण्डै रु ६० हजारसम्मको व्यापार भइरहेको छ । अरु समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उनले जानकारी दिइन् । कोभिडका कारणले यहाँ हुने कार्यक्रम घटेको भए पनि अहिले भइरहँदा उनि खुसी छन् । उनले भनिन्, “हामीलाई त हप्तैपिच्छे केही न केही भयो भने आम्दानी बढ्छ ।”

महाधिवेशन आइतबारसम्म जारी रहने छ । महाधिवेशनको उद्घाटन सुरु हुनुभन्दा एक साता पहिलेबाट नै महाधिवेशनस्थलमा भने भीडभाड बढ्न थालेको थियो । जिल्लाजिल्लाबाट आएका त कतिपय काठमाडौँमा नै भएका प्रतिनिधि र शुभेच्छुक आपसमा भेटघाटका लागि आइरहेका थिए । हिजोअस्तिभन्दा आज बिहानैदेखि भीडभाड बढेको देखिन्छ ।

footwear zone

सो स्थानमा नै खाजा पसल चलाउँदै आएका मातृकाप्रसाद राई महाधिवेशनले गर्दा आफ्नो व्यापार झण्डै चार गुणाले बढेको बताए । एक साता पहिलेबाट नै यहाँ आवतजावत बढ्न थाले पनि बुधबारबाट बाक्लो भएको उनले बताए । बिहीबार भीडभाड बढेको थियो । आज त उनलाई बिहानैदेखि भ्याइनभ्याइ भएको देख्न सकिन्थ्यो । राजनीतिक आस्थाभन्दा पनि व्यापार बढ्ने हुँदा उनलाई महाधिवेशन औधी रमाइलो लागेको छ । उनले भने, “यस्तो चुनाव त हाम्रो लागि दसैँ नै हो ।”

महाधिवेशन, आमसभालगायतका कार्यक्रम हुँदा र व्यापार र अरु मेला पर्व हुँदा यहाँको व्यापार बढ्ने गरेको छ । गत साता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हुँदा चार दिनमा राम्रो व्यापार भएको उनले बताए । अरु समयमा दैनिक झण्डै रु १० हजारदेखि १५ सम्मको व्यापार गर्ने भए पनि अहिले रु ६५ हजारसम्मको व्यापार भइरहेको उनले बताए । खानाभन्दा खाजा खान आउनेको सङ्ख्या धेरै छ । उनले भने, “सबैभन्दा बढी चिया त्यसपछि चना, अण्डा, चाउमिन खान आउने छन् ।”

सो स्थानमा नै बसेर व्यापार गर्ने मात्रै होइन महाधिवेशनका कारण डालोमा वा साइकलमा व्यापार गर्ने पनि राम्रो व्यापार गरिरहेको देख्न सकिन्छ । केही वर्षदेखि नियमितरुपमा नयाँ बसपार्कमा बदाम बेच्ने गरे पनि महाधिवेशनका कारण महाधिवेशनस्थल नजिक आइपुगेको सुरेश लामाले बताए । प्रदर्शनी मार्ग नजिकै भेटिएका उनि चुनाब नसकिएसम्म नियमित आउने बताए । उनले भने, “यस्तै कार्यक्रममा हामीले अरु बेलाभन्दा दोब्बर आम्दानी गर्न सक्छौँ ।” रासस

You might also like

Comments are closed.