पोखरालाई ‘खेलकुदको हब’ बनाउन सरकार दृढ : मुख्यमन्त्री पोखरेल    

कास्की ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय सहर पोखरालाई खेलकुदको सहर बनाउन सरकार दृढ रहेको बताएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीसँग १६औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’का बारेमा पोखरामा भएको छलफलमा उनले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएको म्याराथन सफल बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “गण्डकी प्रदेश सरकार पोखरालाई खेलकुदको हब बनाउने कुरामा दृढ छ । पोखरा म्याराथनलाई सफल बनाउने अभियानमा हाम्रो पनि साथ सधैँ रहनेछ ।”

गण्डकी प्रदेश सरकार पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मुख्य संरक्षकसमेत रहेको छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले खेलकुद मन्त्रालय छुट्टै बनाएर खेल पूर्वाधार निर्माण तथा खेलकुद विकासमा काम अघि बढाइएको जानकारी दिए । उनले पूर्वखेलाडीहरूले आफ्नो सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नसमेत आग्रह गरे ।

मुख्यमन्त्रीले भने, “पोखरा खेलकुदको महत्व बुझ्ने थलो भएकाले पनि पोखरा म्याराथनलाई सफल बनाउन यहाँहरुले खेल्ने भूमिकाले म्याराथन सफल हुने कुरामा म विश्वस्त छु । म्याराथनमा अन्तर्राष्ट्रिय खेलाडीहरूको आकर्षणको केन्द्र बनाउन सक्दो पहल गर्न र त्यसतर्फ आफ्ना कार्यक्रम अघि बढाउन म आग्रह गर्दछु ।”

footwear zone

प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गर्दै समाजमा खेलको महत्वबारे अझै जनचेतना जगाउन आवश्यक रहेको बताए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले १६औँ संस्करणको पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारसँग आग्रह गरे । मञ्चले आगामी फागुन ७ गते पोखरामा म्याराथनको तयारी सुरु गरेको छ ।

 

You might also like

Comments are closed.