महेन्द्रनगर । गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग¥यो ।
१२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरुलाई हस्तान्तरण गरे पनि बस्तीमा खानेपानी, बिजुलीलगायतका पूर्वाधार अझै पूरा भएको छैन । “४२ परिवार मुक्तहलिया भएको यो बस्तीमा दुईवटा नल्का (धारा) छन् ।” मुक्तहलिया बस्तीका सिर्जना सुनारले भनिन्, “सरकारले घरबास त दियो, बेरोजगारी समस्याले फेरि हलिया नै बस्नुपर्ने अवस्था छ ।” बस्तीमा बिजुलीको व्यवस्था पनि राम्रोसित हुन नसकेको उनले बताइन् ।
यहाँको मोतियाफाँटाबाट मुक्तहलियालाई सीताबस्तीमा पुनःस्थापना गरेको भए पनि स्थानीयलाई आयमूलक काममा लाग्न मद्दत हुने विभिन्न सीपमूलक तालिम माग गरेका छन् । “भारतीयले जङ्गलबाट दाउरा ल्याउन दिएन भने घरमा चुलो नै बल्दैन ।” राधिका सुनारले भनिन्, “बस्तीका सबै महिला सिलाइकटाइलगायतका सीपमूलक तालिम पाए काम गरेर खाने थिए ।”

आयआर्जनका लागि स्थानीयदेखि सङ्घीय सरकारले मुक्तहलियाका लागि केही पनि सहयोग नगरेकोउनले गुनासो गरिन् । “दलितका नाउँमा आउने सहयोग कस्तो हुन्छ हामीलाई त थाहा नै छैन ।” सुनारले भनिन्, “दलितभित्र पनि निम्न आयस्रोत भएकालाई कुनैखालको सुविधा उपभोग गर्न पाएनौँ ।” बस्तीका अधिकांश पुरुष भने रोजगारीका लागि भारत जानुका साथै गाउँघरमै ज्यालादारी गरिरहेका छन् ।“हलियाबाट मुक्त भए पनि पारिवारिक अवस्था दयनीय नै छ ।” मुक्तहलिया बस्तीका मञ्जु विश्वकर्माले भन्नुभयो, “मुलुकमा जतिसुकै विकास भए पनि मुक्तहलियाको दैनिकीमा दुःख नै रहे ।”




Comments are closed.