दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

नृपेन्द्रबहादुर मल्ल/मुगु । छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् ।

कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् । छायाँनाथ रारा नगरपालिकाको रु ६७ लाख लगानीमा सडक निर्माण भएको र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ ।

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा सडकको उद्घाटन गरेका थिए । सडक उद्घाटन कार्यक्रममा छायाँनाथका नगरप्रमुख शाहीले चुनावका बेला लिउडीगाउँमा विद्युत् र सडक पु¥याउने वचन दिएकामा कार्यकालको अन्तिममा भए पनि सडक र विद्युत् पु¥याउन सफल भएको बताए ।

footwear zone

छायाँनाथ रारा नपाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भए पनि सडक पु¥याउने नगरप्रमुख शाहीले बताए । कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकलाई घट्टलेकसम्म जोडिने र यो सडकलाई नगर रिङरोड बनाइने योजना रहेको उनले खुलासाा गरे । रिङरोडका रूपमा नगरपालिकाले विकास गरेमा गमगढी–पिना–बालै–कोटिल्ला–मन्दु–घट्टेलेक–रोवा–सोवा–लुम्स–तिर्प–थार्प–रुगा–बाम–सुम्ती–फुली हुँदै पुनः गमगढीमा सडक घुम्ने छ भने सुनात र सुम्लीमा नगरपालिकाले बेलिब्रिज बनाउनुपर्नेछ ।

“लिउडीगाउँमा सबैभन्दा बढी आलु र सिमी उत्पादन हुने गर्छ । यातायात सुविधा नहुँदा आलु, सिमी सदरमुकाम गमगढी बजारसम्म दुई घण्टा बोकेर भए पनि बिक्रीका लागि ल्याउने गरिएको र धेरै कुहिएर जाने गरेको थियो”, स्थानीय हरिलाल सेजुवालले भने, “अब गाउँमा गाडी पुगेको छ, धेरै उत्पादन हुने आलु, सिमी बजारीकरणमा सहज हुनेछ भने कमाउनकै लागि गाउँका युवा बाहिरी जिल्लामा जानुपर्ने छैन, बरु आलु, सिमीखेतीका लागि उत्साहित हुनेछन् ।” नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ ।

You might also like

Comments are closed.