पुलको नामकरण गर्नेलाई पुरस्कार

बलेवा । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद रु २५ हजारले पुरस्कृत गरेको हो ।

सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए । शहीद दिवसमा आइतबार आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको शहीदपार्कको मध्यभागबाट पर्वत जोड्ने गरी कालीगण्डकी खोचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरे।

नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना गरेको थियो । उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो । सापकोटाले नाम मात्रै राखेका थिएनन् उनले राखेको नामको विस्तृत अर्थसमेत समावेश गरेका थिए । पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामकरण गरिएको हो । बागलुङका झण्डै ५०० बढी झोलुङ्गे पुलमध्ये नामकरण भएको यो पहिलो पुल हो । अन्य पुलमा सोही ठाउँ वा खोला, नदीमाथिको पुल भनेर चिन्ने गरिन्छ ।

footwear zone

शहीदपार्कमा भएको कार्यक्रममा त्यहाँ रहेका शहीदको शालिकमा माल्यार्पण गरिएको थियो । शहीदको सम्झना गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शहीदको बलिदानीले नै अहिलेको व्यवस्था आएको बताए ।

You might also like

Comments are closed.