वन क्षेत्रलाई व्यवस्थित बनाउन स्थलगत अभ्यास

भोजपुर । सामुदायिक वनलाई सक्रिय बनाएर आयमूलक बनाउन डिभिजन वन कार्यालयले अभियानको थालनी गरेको छ । कार्यालयले वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई आर्थिकरूपमा सक्षम बनाउन स्थलगत अभ्यास गराउन थालेको हो ।

डिभिजन वन कार्यालय भोजपुरले यहाँका निष्क्रिय जस्तै बनेका सामुदायिक वनलाई सक्रिय बनाएर आयआर्जनमा जोड्न सामुदायिक वनमा स्थलगत अभ्यास कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका विभिन्न सामुदायिक वनलाई लक्षित गरेर कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

प्रदेश वन विकास तथा व्यवस्थापनअन्तर्गत थालिएको कार्यक्रमले वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै स्थलगत अभ्यास गराएर उनीहरुलाई आवश्यक तालिम दिइएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले भने, “सामुदायिक वनलाई व्यवस्थित र आयमूलक बनाउन कामको थालनी गरेका छौँ । यसले वनमा निर्माणमा टेवा पुग्छ भने उपभोक्तालाई पनि वन पैदावारको सदुपयोगमा सहयोग पुग्छ ।”

footwear zone

कार्यालयले टेम्केमैयुङ गाउँपालिकाका–७ मा रहेका अमले, बतासे सल्लेरी, फेदी, आल चोउर र डढुवा सामुदायिक वनका उपभोक्तालाई व्यवस्थित वन बनाउने बारेमा स्थलगत अभ्यास गराएको छ ।

त्यस्तै भोजपुर नगरपालिका–३ सिद्धेश्वरमा रहेका ६ ओटा सामुदायिक वनका उपभोक्तालाई पनि अभ्यास गराइएको छ । सामुदायिक वनले कार्यक्रम उपयोगी रहेकोले यसले वन क्षेत्रको विकास तथा संरक्षणमा टेवा पुग्ने सिद्धपातल सामुदायिक वन अध्यक्ष चित्रबहादुर खड्काले बताए ।

जिल्लामा रहेका ६ ओटा सव डिभिजन वन कार्यालयले विभिन्न सामुदायिक वनलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् । यसबाट वन क्षेत्रको विकास तथा वन क्षेत्रमा देखा परेका विभिन्न समस्या समाधानमा सहयोग पुग्ने सहायक वन अधिकृत खुद्रस मियाँले जानकारी दिए । मियाँले भने, “अहिलेसम्ममा उपभोक्ताले वनको संरक्षण गरिरहेका छन् तर वनको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरुको आयस्तर कमजोर छ । उनीहरुलाई सक्रिय गराएर वनबाट कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै स्थलगत अभ्यास गराएका छौँ ।”

सामुदायिक वनलाई सक्रिय बनाएर आयमूलक काममा जोड्नको लागि वन कार्यालयले थालेको काम राम्रो रहेको स्थानीय तहहरुले बताएका छन् । वन क्षेत्रको विकास तथा संरक्षणका लागि स्थानीय तहहरुले पनि सहकार्य गरेर अघि बढ्ने टेम्केमैयुङ–७ कोट वडाध्क्ष उद्धवकुमार राईले बताए ।

कार्यालयले सामुदायिक वनलाई सक्रिय बनाउन उनीहरुका विधान तथा कार्ययोजना नवीकरणका लागि समेत काम गरिरहेको जनाएको छ । यहाँ ५०० भन्दा बढी सामुदायिक वन रहेपनि अधिकाशं निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.