काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिएका हुन् ।
उनले उपभोक्ताले मूल्य वृद्धिको गुनासो गर्न थालेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका मन्त्रीको सचिवालयले जनाएको छ । आज विभागका महानिर्देशक लीलाप्रसाद शर्मालाई मन्त्रालयमा बोलाएर उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, मौज्दात तथा बिक्री वितरणको अवस्थाको निरन्तर अनुगमन गर्न निर्देशन दिएका हुन् ।
उनले आयातलगायत अन्य कारण देखाई व्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको तथा बजारमा अभाव देखिएको भनी फैलाइएको नकारात्मक हल्लाले आमउपभोक्ता त्रासमा रहेकाले जनतालाई यथार्थ विवरणबारे जानकारी दिई आश्वस्त पार्न विभागलाई निर्देशन दिएका थिए ।

रुस–युक्रेन युद्ध तथा नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाइका कारण बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य उच्च भएको छ । ठूला उद्योगी तथा व्यवसायीले आफूखुसी खाद्यान्नलगायत वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।




Comments are closed.