कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

मान्म । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् ।

शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगरेको नरहरिनाथ गाउँपालिका–९ लालुका दुर्गा बोहोराले बताए । “हाम्रो गाउँमा मोबाइलको टावर थियो । त्यो टावरले काम गर्न शुक्रबारदेखि छाडेको छ”, उनले भने, “फोन सेवा नहुँदा अहिले बाहिर दुनियाँदेखि टाढा भएको अनुभूति भइरहेको छ ।” सान्नी त्रिवेणी गाउँपालिकामा टेलिफोनको टावर राखिएको भए पनि हावाहुरीका कारणले टावरमा समस्या आएको हुँदा मोबाइल फोन गर्न समस्या भएको स्थानीयवासी रामबहादुर सञ्जयालले बताए । “दुई दिनदेखि मोबाइलले फोनको काम गरेको छैन्”, उनले भने, “टावरमा समस्या आएका कारणले यो समस्या आएको हो कि ?”

footwear zone

पलाँता गाउँपालिका टेलिकमको टावर जडान भएको ठाउँमा रहेको सोलार प्यानललाई फुटाएका कारणले टेलिकम सेवा अवरुद्ध हुन पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। “टावर राखेका ठाउँमा रहेको सोलार प्यानल असिनापानी र हावाहुरीले फुटाएका कारण फोन सेवा अवरुद्ध भएको छ”, उनले भने, “यो प्राविधिक विषय भएकाले टेलिकम कार्यालयलाई जानकारी गराएका छौंँ ।”

हावाहुरीका कारणले जिल्लाभरका फोन सेवामा समस्या आएको छ । मोबाइल सेवा र इन्टरनेट सेवा सुचारुका लागि आवश्यक जनशक्ति र सामग्री बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला शाखा कार्यालय कालीकोटले जनाएको छ ।

You might also like

Comments are closed.