यस्ता छन् निर्वाचनको दिनमा सवारी आवागमनको मापदण्ड

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ ।

आयोगबाट यही वैशाख २२ गते स्वीकृत भएको सो मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिएबमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ ।

यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी सोही निवेदनमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।

footwear zone

उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुसूची २ बमोजिमको सिफारिस दिने अधिकारीको सिफारिस लिई अनुसूचीबमोजिम सवारी साधनको अनुमतिपत्र जारी गर्ने निकाय वा अधिकारीसमक्ष पत्र पेश गर्नुपर्नेछ ।

आयोगका अनुसार सवारी साधनका लागि अनुमति माग गर्न निवेदन दिँदा वा पत्र पेश गर्दा यही वैशाख २८ गतेसम्ममा दिइसक्नु पर्नेछ । उक्त मापदण्डको विस्तृत विवरण आयोगको वेबसाइटमा समावेश गरिएको छ ।

आयोगले निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाइसकेको छ ।

यही वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गराउन आयोगले निर्णय गरिसकेको छ ।

You might also like

Comments are closed.