काठमाडौं । उदयपुरको गाईघाटस्थित बरुवा नदीको पुल र कद्हामा गाईघाट सडकखण्डको गाईघाट जोड्ने त्रियुगा नदीको पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि यहाँको पुल जोखिममा परेको छ ।
बर्सेनि बरुवा नदी पुल आसपास क्षेत्रबाट जेठ, असार, साउन र भदौमा ट्र्याक्टर व्यवसायीले बालुवा, रोडा, ढुंगा पुल आसपासका क्षेत्रबाट उत्खनन गर्दा पुलको संरचना कमजोर बन्दै गएको बरुवा टोलका दुर्गा राई र शान्तिनगर टोलका कुमार रोका बताउछन् ।
चार वर्षअघि बरुवा पुलको पूर्वपट्टिको पिलर आसपासका क्षेत्रबाट केही ट्र्याक्टर व्यवसायीले ढुंगा बालुवा उत्खनन गर्दा पुल छेउका पिलर भासिएको थियो । त्यसले सडकका केही भाग नै भत्किन पुगेपछि तत्काल प्रहरी प्रशासनले पुल क्षेत्रबाट गिटी बालुवा निकासी कार्य रोकेको थियो । शान्तिनगर टोलका रोका भन्छन् ।

“बर्सेनि पुल आसपासका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन हुँदा पुलका जग कमजोर बन्दै गइरहेको छ । ”नियमानुसार पुलको ५०० मिटर आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न पाइदैन ।
बरुवा नदी क्षेत्रमा ट्र्याक्टर प्रवेश गरेर दिन र रातमा नदीजन्य पदार्थ मनपरी उत्खनन गरेर निकासी गर्ने गरिएको छ । त्रियुगा नदीको गाईघाट कद्माहा खण्डको गाईघाट जोड्ने पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ निकासी र उत्खनन हुन थालेपछि त्रियुगा नदीको पुल पनि जोखिममा पर्न थालेको गाईघाट दुर्गा टोलका सुमन साह र भागवत ठाकुर बताउँछन् ।




Comments are closed.