विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने बताएका छन् ।

उनले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिए । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धिसँगै यस क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालिएको र गुनासा तत्काल सम्बोधनको व्यवस्था गरिएको स्पष्ट पारे।

तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याई पीडित श्रमिकलाई राहत दिइएको, वैदेशिक रोजगार हेर्नेगरी अलग्गै प्रहरी युनिट खडा गर्ने तयारी भएको, पीडितलाई क्षतिपूर्ति दिनेक्रम जारी रहेको अवगत गराए।

footwear zone

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख २१ हजारको रोजगारी सिर्जना गरिएको, सामाजिक सुरक्षा कार्यक्रममा वृद्धि हुँदै गएको, युवाको सीप सिकेर रोजगारमा जानेको सङ्ख्या वृद्धि हुने र मन्त्रालयको सेवा प्रवाहमा सुशासन तथा सुधारको क्रम वृद्धि हुँदै जाने विश्वास पनि व्यक्त गरे।

सभाको आगामी बैठकमा बाँकी रहेका मन्त्रालयगत विभिन्न शीर्षकमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ। सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ।

You might also like

Comments are closed.