संक्रमण अति प्रभावित जिल्लामा विद्यालय नजान अपिल,यी हुन् अति प्रभावित जिल्ला

काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरेका छन् ।

“ती जिल्लाका बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ः०० बजेपछि सबै रेष्टुरेष्ट तथा क्लब, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन हुन अनुरोध छ”, अपिलमा भनिएको छ ।

footwear zone

उनले अबका दिन सङ्क्रमण प्रभावका हिसाबले निकै नै चुनौतिपूर्ण हुनसक्ने भएकाले सबै नागरिक तथा सरोकारवाल निकाय सचेत हुँदै संवेदनशिल रुपमा जिम्मेवार बन्न पनि आग्रह गर्नुभएको छ ।

अपिलमा जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । उनले सबैलाई सङ्क्रमणबाट जोगिन संवेदनशिल भइदिन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन अनुरोध गरेका छन् । अपिलमा सबै अस्पतालले अनिवार्य रुपमा ज्वरो (फिभर) क्लिनिक सञ्चालन गर्न भनिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले विदेशी नागरिकलाई पिसीअर नेगेटिभ आएपछि मात्र होटलमा बास राख्न अनुरोध गरेका छन् । मन्त्रालयले नियमित रुपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड–१९ सङ्मक्रण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगराउन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थापन गर्न र तोकिएअनुसार निःशुल्क सेवा दिन पनि अपिल गरेका छन् । मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई कोभिड–१९ को परीक्षण तथा उपचारमा उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ ।

You might also like

Comments are closed.