काठमाडौं। असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयनी एकादशी मनाएका छन्। विश्व हिन्दु परिषद् नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले देशव्यापी रूपमा तुलसी रोपण कार्यक्रम मनाएको छ ।
हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) अवस्थामा जानुभई एकै चोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास रहेको छ । त्यही कारण यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । साथै हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
भगवान् विष्णुको स्वरुप मानिने तुलसीको विरुवा घर आँगनमा रोपिन्छ, जसलाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन प्राप्त हुने औषधीय गुण प्रमाणित भएको तुलसीलाई विभिन्न रोगका लागि समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । यसैगरि वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत रहिआएको छ ।

यो ४ महिनाको समयमा व्रतबन्ध, विवाह, मन्त्र लिने कार्य, गृहप्रवेश, मन्दिरको प्राण प्रतिष्ठा लगायतका कार्यहरूलाई निषेध गरिएको छ । भविष्य पुराण, पद्म पुराण तथा श्रीमद्भागवत महापुराणलगायतका ग्रन्थहरुमा हरिशयन गर्नुलाई योगनिद्राको रुपमा व्याख्या गरिएको छ । संस्कृतमा हरि शब्दलाई सूर्य, चन्द्रमा, वायु, विष्णु आदि अनेक अर्थमा प्रयुक्त हुन्छ। हरिशयनको अर्को व्याख्याअनुसार यो ४ महिनासम्म आकाशमा बादल ढाक्ने तथा वर्षाका कारण सूर्य र चन्द्रमाको तेज क्षीण हुने भएको अवधिलाई प्रतीकात्मक वर्णन पनि मानिन्छ ।
यस अतिरिक्त निरन्तर वर्षा र पानीको कारण पित्तरुपी अग्नि कमजोर रहेको हुनाले शारीरिक शक्ति क्षीण हुनुका साथै शरीर बल कमजोर हुनेगर्दछ ।
आजका दिन नेवाः समुदायमा ग्वार्चा बनाएर खाने प्रचलन रहिआएको छ । ग्वार्चा भनेको नेवाः समुदायमा खाइने एक पौष्टिक परिकार हो जुन आटा वा मैदालाई मुछेर त्यसलाई लाम्चो आकारमा पातलो गरि काटेर अन्य गेडागुडी, चना र आलुसँग मिलाइ सुप जस्तै पकाएर खाने गरिन्छ ।
चाडपर्वहरुको वैज्ञानिक महत्वबारे सचेतना जगाउने उद्देश्यले विश्व हिन्दू परिषद् नेपाल तथा जनकल्याण प्रतिष्ठानलगायतका संस्थाहरुले आफ्ना हरेक इकाईहरुमा प्रत्येक वर्ष तुलसी रोपण, तुलसी पूजन, गंगा पूजन, गौपूजन आदि कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।




Comments are closed.