पर्यटनमन्त्री श्रेष्ठ र नाइजेरियाका राजदुत सुलेबीच शिष्टाचार भेट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदुत अहमद सुलेले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्द्धनका विषयमा विचारविमर्स भयो । मन्त्री श्रेष्ठले प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य रहेको बताउदै पर्वतारोहण, पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको बताए ।

कोभिड महामारीको असर कम भएपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनको योजना अघि बढाइएको उनले बताए । प्राकृतिक, आर्थिक र सांस्कृतिक विविधतामा उस्तै रहेका नेपाल र नाइजेरियाबीच अनुभव आदनप्रदानबाट एकआपसमा लाभ लिन सकिने मन्त्री श्रेष्ठले बताए ।

footwear zone

प्रकृति र संस्कृतिलाई पर्यटन समृद्धिको मुख्य आधारको रुपमा लिएका नेपाल र नाइजेरिया दुवै मुलुकबीच पर्यटन क्षेत्रको साझेदारी गर्न तयारी अघि बढाउनेबारे पनि उनिहरुबीच छलफल भएको थियो । पर्यटन क्षेत्रमा हुने साझेदारीले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने राजदुत सुलेले बताए ।

मन्त्री श्रेष्ठले नेपालमा रहेर नाइजेरियन खेलाडीहरुले फुटबल खेल्ने गरेको बताउदै खेलकुदले पनि दुई देशको सम्बन्ध विकासका साथै पर्यटन विकासका सहयोग गरेको बताए । भेटमा मन्त्रालयका सचिव महेश्वर न्यौपाने र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी थिए । भारतको नयाँ दिल्लीमा आवाशीय राजदुतका रुपमा रहेका सुले नेपाल सहित बंगलादेश र श्रीलंकाका लागि गैरआवाशीय राजदुत छन् ।

You might also like

Comments are closed.