एक वर्षपछि लिमिमा खाद्यान्न ढुवानी

हुम्ला । हिमालपारीको गाउँका रुपमा चिनिने नाम्खा गाउँपालिका–६ लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले अनुदानको चामल एक वर्षपछि ढुवानी गर्न थालेको हो ।

खाद्यान्न प्रयाप्त ढुवानी नभएको र हिमपातका कारण चामल ढुवानी हुन एक वर्षको समय कुर्नुपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका नवीनप्रसाद आचार्यले जानकारी दिए । हिउँदको समयमा नाम्खा आवतजावत गर्ने सडक खण्ड अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समस्या हुने गरेको छ । लिमिका तीन गाउँका लागि ५७ क्वीन्टल खाद्यान्न टिप्परमार्फत पठाइएको उनले बताए।

“कोभिड– १९ का कारण उत्तरी छिमेकीमूलुक चीनसँग जोडिएका सीमा नाका बन्द भएपछि नाम्खाका लिमि, यारी लगायतका क्षेत्रमा शाखा कार्यालयबाट खाद्यान्न पठाउने कार्य अहिले भइरहेको छ”, आचार्यले रासससँग भने, “लिमि जाने सडक मार्ग पनि खुलेको र जिल्लामा चामलको मौज्दात पनि अहिले भएकाले हामीले लिमिका लागि विनियोजन गरेको कोटाको चामल ढुवानी सुरु गरेका हौँ ।”

footwear zone

स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने बित्तिकै गाउँपालिकाका अध्यक्ष प्रेम लामाले गरेको मागअनुसार जिल्ला खाद्य व्यवस्थापन समितिको गत असार ९ गतेको निर्णयले छ वटै वडाका लागि चारसय क्वीन्टल खाद्यान्न पठाउने निर्णयअनुसार अहिलेको ढुवानी सुरु भएको हो । समितिको निर्णयमा पुनः दुई सय क्वीन्टल थप गरेपछि तत्कालका लागि लिमीका तिल, हल्जी र जाङ गरेर तीन गाउँका लागि अहिले चामल ढुवानीको काम सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला खाद्य व्यवस्थापन समितिले असार १४ गतेको निर्णयअनुसार हुम्लाका लागि यस आर्थिक वर्षमा सात हजार क्वीन्टलमध्ये पाँच हजार क्विन्टल खाद्यान्न थप भएको छ। आर्थिक वर्ष २०७८/७९ को खाद्यान्न कोटामध्ये सुर्खेतबाट सिमकोटका लागि ढुवानी हुनुपर्ने छ हजार क्विन्टल सीता एयर र तीन हजार क्विन्टल समिट एयरले ढुवानी गर्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट शाखा कार्यालयले जनाएको छ ।

यसैगरी नेपालगञ्जबाट सिमकोटका लागि ढुवानीको जिम्मा लिएको सीता एयरले चार हजार क्वीन्टल र समिट एयरलाई एक हजार क्वीन्टल ढुवानीको जिम्मा दिइएको थियो । अहिलेसम्म वार्षिक कोटामध्यै दुवै एयरलायन्सले गरेर पाँच हजार ५३६ क्वीन्टल चामल ढुवानी भएको जनाइएको छ ।

You might also like

Comments are closed.