काठमाडौं । सिँचाइकै आभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न भएपछि उनीहरु रमाएका हुन् ।
धनगढीमाई नगरपालिका– १२ का किसान सुबोध महतोले भने,“ सिँचाइको माध्यमबाट भएपनि समयमै रोपाइँ सम्पन्न भयो ।” तर यसवर्ष वैकल्पिक सिँचाइका लागि भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले ‘डिप ट्यूबेल’ जडान गरेपछि खेती गर्न सहज भएको उनको भनाइ छ ।
अघिल्लो सिँचाइको अभावमा करिब एक बिघामा मात्र धान खेती गर्न सकेको उनले यसवर्ष भने दुई बिघा क्षेत्रफलमा धानबाली लगाएको जानकारी दिए ।

यस्तै सिरहाकै नरहा गाउँपालिका– ५ बलुवाका किसानकारी यादवलाई पनि यसवर्ष धानबाली लगाउन समस्या भएन् । उनले पनि साउनको पहिलो साता नै धान रोपाइँ गरेर थमान मेटाइरहेको बताए ।
‘‘अघिल्लो वर्ष जस्तो यसवर्ष खेती गर्न पानीको कुनै समस्या भएन्” उनले भने,‘‘यसवर्ष डिप ट्युवेलबाट पानी आएपछि समयमै धान रोपाइँ गरे, खासै पानीको दुःख भएन् ।” महतो र यादव मात्र होइन्, विगतको वर्षमा खेतीका लागि आकाशे पानीको भरपर्दै आएका सिरहा र सप्तरीका किसानको सिँचाइको समस्या विस्तारै टर्दै गएको छ ।
अन्नबालीको भण्डार मानिएको सिरहा र सप्तरीमा बर्सेनि खडेरीको माग खेप्दै आएका किसानलाई राहत पुर्याउने उद्देश्यका साथ भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले डिप ट्युवेल, स्यालो ट्युवेल र पावर ड्रिल जडान गरेपछि आफूहरुको सिँचाइको समस्या टर्दै गएको किसानले बताएका छन् ।
भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले आर्थिक वर्ष २०७८/७९ मा सिरहा र सप्तरीमा थप दुई हजार ८४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको जनाएको छ । सिँचाइका लागि आर्थिक वर्ष २०७८/७९ मा सिरहा र सप्तरीमा ४५ थान डिप ट्युवेल र ३५ थान पावर ड्रिल जडान गरेपछि सिञ्चित क्षेत्र बढेको कार्यालय लहानका कार्यालय प्रमुख सुदर्शन अधिकारीले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा जडान गरिएको डिप ट्युवेल र पावर ड्रिलबाट थप सिरहामा एक हजार आठ सय ४८ हेक्टर र सप्तरीमा नौ सय ९२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । एक थान डिप ट्यूवेलबाट ६० हेक्टर र पावर ड्रिलबाट चार हेक्टरमा सिँचाइ हुन्छ । आर्थिक वर्ष २०७८/७९ मा सिरहामा २९ थान र सप्तरीमा १६ थान गरी ४५ थान डिप ट्यूबेल जडान गरिएको सो कार्यालयका हाईड्रोजियोलिष्ट दीपीका साहले जानकारी दिए ।
सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले सो कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सिरहामा २७ थान र सप्तरीमा आठ थान पावर ड्रिल समेत जडान गरिएको हाईड्रोजियोलिष्ट साहले बताए ।यस्तै सो अवधिमा १४ वटा पम्पको मर्मत गरी पुनः सञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको उनको भनाइ छ । सो आर्थिक वर्षमा सिरहा र सप्तरीका ११ थानमा विद्युतीकरण पम्प जडान गरिएको जनाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा सो कार्यालयले सिरहामा ४० थान र सप्तरीमा आठ थान पावर ड्रिल जडान गरेको थियो । उक्त आर्थिक वर्षमा सिरहामा छ थान र सप्तरीमा १५ थान गरी २१ थान स्यालो ट्युबेल समेत जडान गरिएको थियो ।
किसान समूहमा आवद्ध भएका किसानको माग र सरकारले छनोट गरेको योजना अनुसार सिरहा र सप्तरीमा डिप ट्युबेल, स्यालो ट्युवेल र पालर ड्रिल जडान गर्दै आएको प्रमुख अधिकारीको भनाइ छ । यसरी बर्सेनि डिप ट्युवेल, स्यालो ट्युवेल तथा पावर ड्रिल जडान हुन थालेसँगै सिञ्चित क्षेत्र बढ्दै गएको स्थानीय किसानले बताएका छन् ।
‘‘पहिला सिञ्चित क्षेत्र कम रहेकाले वर्षाको भरमा मात्र किसानले खेती गर्दै आएको थियो”, धनगढीमाई नगरपालिकाका किसान श्याम महतोले भने,‘‘ तर डिप ट्यूवेल र स्यालो ट्यूवेल जडान गर्ने क्रम बढेसँगै विस्तार सिचिञ्त क्षेत्र बढ्दै गएको छ ।” यसबाट खेती गर्न सहज भइरहेको उनको भनाइ छ ।




Comments are closed.