तीन सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आज एकै दिन तीन वटा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल सुरु भएको सय दिन पुगेको अवसरमा नौ वटा वडामध्ये हेल्थपोष्ट नभएका वडा नं २, ३ र ५ मा ती क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

सञ्चालित सहरी क्लिनिक वडा नं २ को सानो थिमिस्थित नाट्श्वरी बहुउद्देश्य भवन, वडा नं ३ को वडा कार्यालय भवन कौशलटार र वडा नं ५ को भुँलाखेलमा रहेका छन् । क्लिनिकबाट गर्भवती, सामान्य बिरामी जाँच, घाउ खटिराको चिरफार र ड्रेसिङ, परिवार नियोजनका अस्थायी साधनको वितरण, सरकारद्धारा तोकिएका औषधिको निःशुल्क वितरण जस्ता सेवा प्रवाह हुनेछ।

क्लिनिकमा जनस्वास्थ्य निरीक्षक अघिकृत तहको नेतृत्वमा हाललाई स्वास्थ्य सहायक र अनमी गरी तीनजना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। नगरभित्रका हेल्थपोष्टमा भएका स्वास्थ्यकर्मीबाट सहरी क्लिनिकको जनशक्ति व्यवस्थापन गरिएको हो ।

footwear zone

छिट्टै मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका दक्ष चिकित्सक, एमबिबिएस डाकटर र नर्सको व्यवस्थापन गरी क्लिनिकको सेवा विस्तार गरिने नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए। उनले पद बहाली भएको एक सय दिनको उपलब्धिका रुपमा जनताको आधारभूत अधिकार र मौलिक अधिकारभित्र रहेको स्वास्थ्य अधिकारलाई प्रत्याभूति दिने उद्देश्यले नगरपालिकाले हेल्थ पोष्ट नभएका वडामा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताए।

“जनताको स्वास्थ्यप्रति नगरपालिका सदैव सचेत छ। जनतालाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने चुनावी वाचा पूरा गर्ने उद्देश्यले पनि क्लिनिक सञ्चालनमा ल्याएका हौँ,” उनले भने। नगरप्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको वाचा र प्रतिबद्धता पूरा गर्ने एक खुड्किलोको रुपमा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताए ।

उनले कार्यकालको सय दिन नपुग्दै हालै नगरका ५ र ७ वडाका पाँच सय १९ परिवारलाई स्वबासी जग्गाको धनीपुर्जा वितरण गरेको, चार वटा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको र त्यसमा आवश्यक नीति र कार्यविधि निर्माण भइरहेको, आगामी पुसमा नगरसभा बैठक आयोजना गरी थप नीति, नियम र ऐन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए।

मध्यपुरथिमि वडा नं २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले क्लिनिक सञ्चालनमा आएसँगै वडाका सर्वसाधारणको स्वास्थ्यमा पहुँच वृद्धि हुने बताए। उनले आर्थिक अवस्था कमजोर भएका र न्यूनआय भएका स्थानीयवासीलाई क्लिनिकबाट प्रवाह हुने निःशुल्क सेवाले लाभ प्रदान गर्ने तथा आर्थिक अभावकै कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे ।

You might also like

Comments are closed.