काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्र माथि उकास्न उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी बढोत्तरी गरिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारणसभामा उनले सरकार अर्थतन्त्रलाई उकास्नेगरी आधारभूत पूर्वाधार र ठूला आयोजना निर्माणमा केन्द्रित भएकाले अबका दिनमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।
“गत वर्षको हाम्रो कामसँग म ‘ह्याप्पी’ छु । राष्ट्र बैंकले सही निर्णय र नीति लिएकाले अर्थतन्त्र सही दिशामा अघि बढेको छ”, उपाध्यक्ष पौडेलले भने। उनले नेपालमा लाइसेन्स दिँदा घुस लिने प्रचलन बढेको भन्दै लाइसेन्स राजको अन्त्य गर्नुपर्ने बताए। उनले भने, “नेपालमा लाइसेन्स दिँदा विभिन्न खाले हल्ला हुने गरेको छ। हरेक क्षेत्रमा सिण्डिकेट छ। अनेक खालको एकाधिकर मौलाएको छ, त्यसैले लाइसेन्सराजको अन्त्य हुनुपर्छ।”
उपाध्यक्ष पौडेलले नेपालमा पनि विस्तारै मानिसले पैसा बचत गर्ने प्रचलन सुरु भएको र त्यसले अर्थतन्त्र सुधारको बाटोमा जाने विश्वास व्यक्त गरे । पहिला नयाँ घर, घडेरी र सवारी साधनमा खर्चिने पैसा अहिले बचत गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ । उपाध्यक्ष डा पौडेलले अबको ५ वर्षमा केही सडक आयोजना निर्माण पूरा हुने र त्यसले पनि अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए। कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउन सक्ने हो भने दीर्घकालीन रुपमा अर्थतन्त्रमा स्थायित्व हुने उनको धारणा छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको बताएका छन् । श्रम बजार खुल्दै गएको, रेमिटन्स बढेको तथा विदेशी पर्यटक आगामनमा पनि सुधार देखिएकाले अहिले चिन्तित हुने अवस्था नरहेको उनले बताए । गभर्नर अधिकारीले विश्वव्यापी मूल्यवृद्धिका कारण नेपालमा पनि असर परेको बताए । मङ्सिर यता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको उनले उल्लेख गरे ।
“तरलताको कुरा बारम्बार आउने गरेको र यो कहिले हट्ला भनेर व्यवसायीहरूले बारम्बार सोध्ने गर्नुभएको छ । लिक्विडिटीको ‘क्रक्स’ सबैलाई थाहा छ । भुक्तानी सन्तुलन घाटा गएको र बाह्य क्षेत्रमा समस्या आएका कारणले बजारबाट तरलता अन्तै गयो । तर, आन्तरिक रुपमा पैसा हामीसँगै छ । यहाँका बैंक तथा ऋण जसले लिएको उहाँहरूसँगै पैसा छ । तरलताको समस्या समधान गर्न भुक्तानी सन्तुलनको अवस्थामा सुधार आउनैपर्छ यो करेक्सन नभइकन तरलता सहज हुँदैन,” उनले भने ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको र बजारमा हल्ला भएजस्तो नेपाल कुनै पनि हालतमा श्रीलंकाको अवस्थामा जान नसक्ने भन्दै केन्द्रीय बैंकले सजकता अपनाउन जरुरी रहेको औंल्याए ।
त्यस्तै, सेजनका पूर्वअध्यक्षद्वय गोपाल तिवारी र गोकर्ण अवस्थी तथा निवर्तमान अध्यक्ष भिमप्रसाद गौतमले अर्थतन्त्रलाई सही दिशाबोध गराउन आर्थिक पत्रकारले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारिताप्रति प्रोत्साहन गर्दै उनीहरूको क्षमता अधिवृद्धिमा सेजनले सशक्त भूमिका निर्वाह गर्दै आएको बताए ।




Comments are closed.