विभिन्न मालवस्तुको आयातमा लाग्दै आएको करको दरमा हेरफेर

काठमाडौं । सरकारले विभिन्न मालवस्तुको आयातमा भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मालवस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको छ ।

नयाँ व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको हो । राजस्व सचिव रामेश्वर दङ्गालका अनुसार उद्योगले सूर्यमुखीको तेल उत्पादन गर्न आयात गर्ने सूर्यमुखीको गेडा आयात गर्दा महसुलमा यसअघि दिइएको ५० प्रतिशत छुटको सट्टा अब ९० प्रतिशत बराबरको छुट पाउने भएका छन् ।

यस्तै भटमासको गैँडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगले त्यस्ता सामग्री आयात गर्दा भन्सार महसुलको ५० प्रतिशत छुटको सट्टा ९० प्रतिशत छुट पाउने नयाँ व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार तोरी, रायो, क्यानोलाको गेडा, सरस्युको गेडा आयात गर्दा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत बराबरको छुट पाउने प्रबन्ध गरिएको छ ।

footwear zone

अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रुपमा पैठारी गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १५ प्रतिशत लाग्नेछ । सो खण्डबमोजिम सिफारिस गर्दा उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिणामका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ । सहकारी संस्थाले करछुट हुने कारोबारबाहेकका कारोबार गरेमा साविकको नगरपालिका क्षेत्रभित्र सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था हटाइएको छ ।

नयाँ व्यवस्थाभित्र नगरपालिका क्षेत्रभित्र सञ्चालन भएका सहकारीले पाँच प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा १० प्रतिशत बराबरको छुट दिइनेछ ।

यस्तै साङ्ख्यिकरुपले नियन्त्रित बङ्ग्याउने, मोड्ने, सोझो पार्ने वा च्याप्टो पार्ने अन्य यन्त्रको पैठारी महसुल दर महलमा पाँच उल्लेख गर्नुपर्नेछ । यस्तै वायर तथा फलामे डण्डीको महसुल पनि पाँच प्रतिशत मात्रै राख्ने व्यवस्था गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क अब भने नलाग्ने भएको छ ।

You might also like

Comments are closed.