देवचुलीमा घाँसखेती गर्ने किसानलाई मलमा अनुदान

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ ।

नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा श्यामकृष्ण तिवारीले जानकारी दिए ।

देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिसकेको छ । “घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिनेसम्बन्धी कार्यविधि निर्माण गरिसकेका छौँ, कार्यक्रम निर्माण गरी कार्यान्वयनमा जान बाँकी छ”, पशु विकास अधिकृत तिवारीले भने ।

footwear zone

पशुपालक किसानलाई दानामा हुने लागत घटाउन यस्तो कार्यक्रम गर्न लागिएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । “घाँसखेतीमा आधारित उत्पादन कार्यक्रम सञ्चालन गर्दा लागत कम लागि किसान फाइदामा जान्छन् भन्ने हिसाबले यो कार्यक्रम गर्न लागेका हौँ”, नगरप्रमुख न्यौपानेले भने, यसले बाँझो जमिन सदुपयोग गर्नसमेत सघाउने छ ।

पशुपालक किसान उत्पादनमा लागत बढ्दा समस्यामा परेका छन् । नगरप्रमुख न्यौपानेले भने, “दानाको मूल्य बढ्दै जाने, अर्कातर्फ उत्पादित वस्तुको मूल्य लगानीको तुलनामा कम हुने, यसले गर्दा किसान मारमा छन्, हामी केही भए पनि नगरस्तरबाट किसानका समस्या समाधान गर्ने प्रयासमा छौँ ।”

दानाको विकल्पमा घाँस लगाउन सके किसानलाई राहत मिल्ने नगरप्रमुख न्यौपानेले बताए । नगरपालिकाले यससम्बन्धी कार्यविधि निर्माण गरिसकेको र कार्यक्रम कार्यान्वयनका लागि खासै समस्या नहुने उनको भनाइ छ । “यो नयाँ कार्यक्रम सुरुआत गर्ने तयारी गरेका छौँ, कार्यक्रम सञ्चालनका लागि नै स्रोतको समस्या हुन्छ जस्तो मलाई लाग्दैन, कहीँकतैबाट यो कार्यक्रम सञ्चालन गर्छौँ”, नगरप्रमुख न्यौपानेले भने ।

देवचुली नगरपालिका पशु विकास शाखाको तथ्यांकअनुुसार नगरभित्र व्यावसायिक पशुपालन गर्ने फार्मको सङ्ख्या पाँच सय ५९ रहेको छ । व्यावसायिक पशुपालनमा आवद्ध परिवारको सङ्ख्या भने दुई हजार पाँच सय ६० रहेको छ ।

You might also like

Comments are closed.