काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्री आठ वर्षअघि स्नातक अध्ययन गर्दै गर्दा स्वदेशमै रोजगारी खोजे । स्वदेशमा उनले कुनै काम पाउन सकेनन् ।
उनीसँग आफ्नै काम गर्न लगानी पनि थिएन । निराश बन्दै सागर कामको खोजीमा वैदेशिक रोजगारीमा युएई हानिए ।विदेशमा तीन वर्ष काम गरेर फर्किएका सागरले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो जस्ता सामग्री विन्ध्यावासिनी नामक लघु उद्योग खोलेका छन् ।
“युएइको पेट्रोलपम्पमा तीन वर्ष काम गरे, विदेशबाट फर्किएर अर्काको मुलुकमा काम गर्नुभन्दा स्वदेशमै उद्यम गर्ने सोच आयो”, उनले भने, “बुवा वन कार्यालयमा जागिरे हुनाले उहाँलाई यसबारेमा थाहा थियो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको सामाग्री उत्पादन गर्ने उद्योग खोले ।”

भीमदत्त नगरपालिका-१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा उनले तीन कट्ठा जमिन भाडामा लिएर उद्योग खोलेका छन् । वैदेशिक रोजगारीको मोह छोडेर उनि अहिले स्वदेशमै आफ्नै उद्यममा जमेका छन् । वैदेशिक रोजगारीका क्रममा कमाएको करिब रु २० लाख लगानीबाट सुरु गरेको उद्योग उनको कमाइको मुख्य स्रोत बनेको छ ।
“सुरुमा सानो एउटा कोठाबाट सुरु गरेको काम अहिले विस्तार भएको छ, सुरुमा आफ्नो रु २० लाख लगानी गरेका थियौँ”, उनि भन्छन्, “अहिले बैंकबाट रु २६ लाख जति ऋण लिएका छौँ ।” सागरले आफूले स्वदेशमै मात्रै रोजगारी पाएका छैन, स्थानीय १० जनालाई पनि उद्योगमा रोजगारी दिएका छन् । बेत, बाँसको फर्निचर तथा झाडु बनाउने उद्यममा सक्रिय सागर स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुसी छन् ।
“फर्निचर बनाउने मिस्त्री तथा झाडु बनाउने गरेर १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक रु ३० लाखसम्मको कारोवार हुन्छ”, उनले भने, “स्वदेशमै काम गरेर सात जनाको परिवार सुखका साथ पालिरहेको छुँ, विदेशमा परिश्रम बेच्नुभन्दा स्वदेशमै काम गर्नु राम्रो छ ।”
बेत, बाँसका फर्निचर तथा झाडुको माग धेरै आउने गरेको उनी बताउछन् । सुदूरपश्चिमका नौवटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उनको भनाइ छ । “बजारमा माग बढी छ, हामी सुदूरपश्चिमका नौ वटै जिल्लामा उत्पादन पठाउँछौँ”, उनी भन्छन्, “बेत कैलालीबाट ल्याउने गरेका छौँ भने अर्मिसो डडेल्धुरा, पाल्ला तथा झापाबाट ल्याउँछौँ ।”
कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यमगर्न सागरको सुझाव छ । “विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”, उनले भने, “त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।”
सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउछन् ।
“लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छ”, उनले भने, “कम ब्याजमा ऋण पाइएमा युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थे ।”




Comments are closed.