काठमाडौं । नदीजन्य पदार्थ उत्खनन बन्द गर्न कृष्णपुर नगरपालिका-२ बाणि खल्ला बस्तीका बासिन्दाले माग गरेका छन् । मछेली नदीमा बर्सेनि हुने बालुवा, गिट्टी र ढुङ्गाको दोहनबाट बस्ती नै विस्थापित हुने अवस्थामा पुगेकाले उनीहरुले उत्खनन बन्द गर्न माग गरेका हुन् ।
बाणिस्थित खल्ला बस्तीका भलमन्सा फूलपाती चौधरीले नदीजन्य पदार्थ जथाभावीरूपमा उत्खनन हुँदा नदीले बहाव क्षेत्र परिवर्तन गरी बस्तीतर्फ सोझिएर बग्न थालेको बताए ।
“नदीले बहाव क्षेत्र परिवर्तन गर्दा बस्ती जोगाउनका लागि बनाइएको तटबन्धसमेत भत्किने अवस्थामा पुगेको छ”, उनले भने, “पूर्व–पश्चिम राजमार्ग जोड्नका लागि मछेली नदीमा निर्माण गरिएको पुलसमेत खतरामा परेको छ ।”

खेतीयोग्य जमिन कटान भई यहाँ बस्दै आएका बासिन्दाले बस्ती नै छाडेर विस्थापित हुनुपर्ने अवस्था आएको स्थानीयवासी चौधरीले बताए । नदी उत्खनन बन्द नगरिए यस क्षेत्रका बासिन्दाले सडक संघर्षमा उत्रिने चेतावनीसमेत दिएका छन् । नदीको उत्खनन बन्द गर्नका लागि वडा कार्यालयमार्फत ८५स्थानीय बासिन्दाले हस्ताक्षरसहित नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।
“नदीजन्य पदार्थ उत्खनन वैज्ञानिकरूपमा गरिनुपर्ने हुन्छ”, जानकी चौधरीले भनिन्, “वातावरणीय प्रभाव मूल्यांकनबिना गरिने नदीजन्य पदार्थको उत्खनन तत्काल रोकिनुपर्छ ।” नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेको थियो । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनलाई कर्यान्वयनमा ल्याएरमात्रै नदीजन्य पदार्थ उत्खनन गरिनुपर्ने वडाध्यक्ष अर्जुन साउदले बताए ।
उनका अनुसार खल्ला गोठ, मुक्त कमैया बस्ती बाणि र खल्ला बस्तीमा नदीजन्य पदार्थ संकलन र उत्खननका सम्बन्धमा नियमित अनुगमन तथा सुपरीवेक्षणका लागि समिति गठन गरिने छ ।




Comments are closed.