बागमती प्रदेशमा १८ हजार उद्योग प्रतिष्ठान सञ्चालन

हेटौँडा । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणअनुसार बागमती प्रदेशमा १८ हजार तीन सय ३३ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।

विभाग र तथ्यांक कार्यालय हेटौँडाद्वारा राष्ट्रिय औद्यौगिक सर्वेक्षण २०७६ को आज हेटौँडामा सार्वजनिक गरिएको विवरणअनुसार बागमती प्रदेशमा १८ हजार तीन सय ३३ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको जानकारी दिइएको छ । सार्वजनिक गरिएको सर्वेक्षणमा प्रदेशको ठूला उद्योगमा ८७ हजार चार सय ६० र सानामा २४ हजार नौ सय ५२ रोजगार व्यक्ति रहेको बताइएको छ ।

त्यसैगरी प्रदेश नं १ मा १२ हजार दुई सय २५, मधेसमा सात हजार दुई सय ७९, गण्डकीमा छ हजार आठ सय १८, लुम्बिनीमा १० हजार पाँच सय आठ, कर्णालीमा एक हजार छ सय ३५ तथा सुदूरपश्चिम प्रदेशमा तीन हजार तीन सय ८७ उद्योग प्रतिष्ठान रहेको औद्योगिक सर्वेक्षण २०७६ उल्लेख गरिएको छ ।

footwear zone

अधिराज्यभरि कूल ६० हजार एक सय ८५ उद्योग प्रतिष्ठान सञ्चालमा रहेको जनाइएको छ । सञ्चालनमा रहेका औद्यौगिक प्रतिष्ठानले रु आठ खर्ब ४६ अर्ब ६६ करोड मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरी करिब रु १२ खर्ब एक अर्ब १७ करोडको मूल्य बराबरको वस्तु तथा सेवा उत्पादन गरेको सर्वेक्षणमा उल्लेख भएको विभागका निर्देशक विनोदशरण आचार्यले बताए।

लागत उत्पादन अनुपात घटाउनु नै उद्योगको मुख्य चुनौती र समस्या रहेको उनले बताए। औद्यौगिक वर्गीकरणअनुसार प्रतिष्ठानको स्थायी सम्पत्तिमा सबैभन्दा बढी बागमती प्रदेशको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको रहेको बताइएको छ । औद्यौगिक प्रतिष्ठामा संलग्न रहेका व्यक्तिको सङ्ख्या चार लाख ९१ हजार दुई सय २७ रहेकोमा तलबी कामदारको सङ्ख्या तीन लाख ८१ हजार रहेका छन् ।

सो औद्योगिक सर्वेक्षण २०७६ मा पूर्ण गणना र नमूना छनौट विधि दुवै तरिका अवलम्बन गरिएको निर्देशक आचार्यले भन्नुभयो । खानी तथा उत्खनन्, औघौगिक उत्पादन, विद्युत् तथा ग्यास, पानीको आपूर्ति ढल निकास, फोहर व्यवस्थापनलाई वर्गीकरण गरी राष्ट्रिय औद्यौगिक सर्वेक्षण तयार पारिएको बताइएको हो ।

सर्वेक्षणको मुख्य उद्देश्य अर्थतन्त्रमा औद्यौगिक क्षेत्रले गरेको योगदानको मापन गर्नु, नीति निर्माण, योजनाविद्, उद्योगपति, अनुसन्धानकर्तालाई औद्यौगिक क्षेत्रसँग सम्बन्धित आवश्यक अंक उपलब्ध गराउनुरहेको उनको भनाइ रहको छ। केन्द्रीय तथ्यांक विभागले प्रथम राष्ट्रिय औद्योगिक गणना विसं २०२२ मा सुरु गरेको थियो ।

You might also like

Comments are closed.