पहिरोका कारण तरकारी बजारसम्म पुर्‍याउन समस्या

म्याग्दी । बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ। बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् ।

डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ लिन नसकेको गुनासो गरे। “सडक बनेपछि सजिलो होला भनेर व्यवसायिकरुपले तरकारी खेती थालेका थियौ,” उनले भने, “चिप्लेटी र डडुवाको बीचमा पर्ने हेकुले भन्ने ठाउँमा सडक भासिँदा यातायातको समस्या भयो ।” बर्खायाममा लामो समय यातायात बन्द हुँदा गोलभेडा, साग, सिमी, खुर्सानीलगायत तरकारी बेनीको बजारमा पठाउन समस्या परेको हो ।

डडुवादेखी चिप्लेटीसम्म डोकोमा बोकेर लैजाने र मङ्गला गाउँपालिकाको तल्लो डडुवा हुदै बेनी पठाउँदा ढुवानी खर्च महँगो पर्ने र बजारमा प्रतिस्पर्धा गर्न नसकिने अवस्था छ। करिब १०० घरपरिवारको बसोबास रहेको डडुवाका २० कृषकले व्यावसायिक तरकारीरुपले खेती गरेका छन् । दैनिक २० क्रेट टमाटर उत्पादन हुन्छ ।

footwear zone

खुल्ला जमिनमा पनि बन्दा, काउली, साग, गोलभेडा, सिमी, भन्टा, काँक्रो, क्याप्सीकम, खुर्सानी, ब्रोकाउली र अदुवा लगाइएका छन् । भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्तिले गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालन गरेका हुन् ।

उजाड र उराठलाग्दो डडुवा अहिले हराभरा भएको छ । हाइटेक प्रविधिको टनेलका साथै खुल्ला जमिनभित्र तरकारी खेती गरिएका छन् । बिरुवाको जरा जरामा पानी र प्रोटिन आपूर्ति हुने गरी थोपा सिचाई प्रबिधि जडान गरिएका छन् । झार र रोगकिराको समस्या न्यूनीकरण गर्न मल्चिङ प्रविधि अपनाइएका छन् ।

डडुवाको तरकारी विक्रीका लागि मुख्य बजार बेनी हो । निरन्तर पहिरो जाने गरेकाले हेकुलेमा यातायातका साधन सञ्चालन गर्न समस्या भएको बेनपा–५ का वडाध्यक्ष गोविन्द बानियाले बताए। यसपाली पनि बर्खा शुरु भएपछि सो ठाउँमा दुई पटक सडक मर्मत गरिएको र पुनः मर्मतका लागि डोजर पठाउने उनले बताए ।

कृषकहरुको जागरुकताका कारण डडुवा गाउँ व्यवसायिक कृषिमा अग्रसर भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। उन अनुसार डुडुवाका कृषकहरुलाई प्लास्टिकको टनेल, अदुवा, साना सिचाई, प्राङग्रारिक खेती, रैथाने बालीका कार्यक्रममार्फत सहयोग गरिएको छ । गत वर्षमात्र डडुवाका १० भन्दा बढी कृषकले उक्त केन्द्रको विभिन्न कार्यक्रमबाट अनुदान सुबिधा लिएका थिए ।

You might also like

Comments are closed.