‘चीज’ बनाउन सिकाउँदै गल्याङ नगरपालिका

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चीज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चीज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चीजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रमअन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चीज’ उत्पादनसम्बन्धी सीप प्रदान गरिएको पशु विकास शाखा प्रमुख सुशील अर्यालले बताए ।

नेपाली बजारमा चीजको माग उच्च रहेकाले बजारको समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएकाले किसानलाई नयाँ परिकार उत्पादन गर्नेतर्फ अभिप्रेरित गरिएको उनले बताए । “अमेरिकाबाट आउनुभएका विशेषज्ञसँगै यहाँका किसानले सीप सिकिरहनुभएको छ”, उनले भने, “स्वादका हिसाबले गुणस्तरीयतामा जोड दिएका छौँ, गुणस्तरीय उत्पादन गरेपछि बजारीकरणको समस्या हुँदैन ।”

गल्याङ–९ गेझास्थित मुरली एग्रोफर्म प्रालिमा अमेरिकाबाट आएका चीज विशेषज्ञमार्फत सीप सिकाइएको हो । दूध उत्पादन गर्दै आएको मुरली एग्रोफर्ममा आवद्ध चार जना किसानसहित स्थानीय १५ जना दुग्ध उत्पादक किसानले सीप सिकेका छन् । चीज गाउँ ठाउँकै लागि नयाँ र नौलो भएकाले पनि यहाँका दुग्ध उत्पादक आकर्षित भएका छन् ।

footwear zone

“दूध उत्पादन गर्दै आएका छौँ, हाम्रो फर्मको उद्देश्य नै यहाँको दूध यहीँ खपत गर्नुपर्छ भन्ने हो”, मुरली एग्रोफर्मका सञ्चालक कुसुम भण्डारीले भने, “हाम्रो उद्देश्य अनुरुपकै कार्यक्रम नगरपालिकाले यहाँ सञ्चालन गरिदियो हामी निक्कै खुसी छौँ ।” गाईपालनसम्बन्धी तरिकासहित चीज बनाउनका लागि निक्कै उत्साहित भएर यहाँका किसान लागेको सञ्चालक भण्डारीको छ ।

दूधबाट भन्दा पनि चीजबाट मूल्य धेरै पाइने, बजारको समस्या नहुने, नयाँ र नौलो परिकार बनाउने सीप पाएपछि व्यवसाय थप प्रभावकारी हुने उनको दाबी छ । उपभोगसँग मात्रै रमाएको पुस्तालाई उत्पादनसँग जोड्नका लागि नगरपालिका निरन्तर अगाडि बढेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

घर–घरको आर्थिक विकास नहुँदासम्म पालिकाको समृद्धि सम्भव नहुने उनको बुझाइ छ । “गल्याङ नगरपालिका कृषि र पशुपालनमा सम्भावना बोकेको र ग्रामीण भेग भएको ठाउँ हो”, उनले भने, “यहाँ जे जे कुराको सम्भावना हुन्छ, यहाँको हावापानी, भूगोलकै आधारमा सम्भावनाको खोजी गरी अगाडि बढ्दै छौँ ।”

युवाशक्ति विदेश पलायन भइरहेको अवस्थामा उनीहरूलाई यहीँ रोक्दै युवा पुस्तालाई उत्पादनसँग जोड्दै आर्थिकस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ । नगरपालिकाले यहाँका सम्भावनाको खोजी गर्नुका साथै उत्पादन, बजारीकरण, उचित मूल्य प्राप्तिका लागि पहल गर्ने नीति तथा योजनासहित अगाडि बढेको दाबी उनको छ । चीज विशेषगरी होटल तथा रेष्टुरेन्टमा पिज्जामा प्रयोग गर्नका लागि माग हुने गरेको छ ।

You might also like

Comments are closed.