काठमाडौं । दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस, २०२२ मनाइएको छ । “अब हाम्रो पालो : हाम्रो अधिकार, हाम्रो भविष्य” (Our Time is now- our rights, our future) नाराका साथ दिवस मनाइएको हो ।
१९ डिसेम्बर २०११ मा बसेको संयुक्त राष्ट्र संघीय साधारण सभाको विशेष प्रस्ताव (Resolution ) ६६/१७० अनुसार सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ तारिखका दिन अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने निर्णय गरेसँगै ११ अक्टोबर, २०२२ मा दिवस मनाउन थालिएको हो ।
विशेष गरी बालिका अधिकारको मान्यतालाई स्थापित गर्न, विश्वभरका बालिकाहरुले भोग्नु परेको संवेदनशिल तथा अन्य उमेर समुहभन्दा भिन्न चुनौतीहरुको पहिचान गर्न, संसारभरी बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेद, कुरीति, कुसंस्कार, हिंसा, बलात्कार, बालविवाह, गरिबी, अशिक्षा, कुपरम्परा र अन्य बालिकासँग सम्बन्धित सवाल समस्याहरुको अन्त्य गर्ने र बालिका अधिकारको सवाललाई मुलप्रवाहिकरणका लागि यो दिवस मनाउन थालिएको हो ।

नेपालको सन्दर्भमा लैङ्गिक मुलप्रवाहिकरण र बालिका अधिकारको सवालमा विभिन्न सरोकारवालाहरुले योगदान पुर्याइरहका भए पनि बालिका अधिकारको सम्बन्धमा ठोस परिमाण र उपेक्षित उपलब्धी हासिल गर्न नसेकोको अवस्था छ । अझै पनि बालिका तथा यौनिक तथा लैङ्गिक अल्पसङख्यक बालबालिकाहरु विभिन्न समस्याहरुमा रुमलिएका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालका अझै २८ प्रतिशत विद्यालयमा छात्रछात्रको लागि छुट्टाछुट्टै शौचालय छैन् ।
४० प्रतिशत किशोरीहरू महिनावारीका कारण प्रत्येक महिना कम्तिमा एक दिन बिदा लिन बाध्य छन् । किशोरी जोखिम स्वास्थ्य अभ्यास सर्वेक्षण, २०१७ का अनुसार ५ वर्ष मुनिका २८ प्रतिशत बालिकाहरु कम तौलका छन् भने ३९.५ प्रतिशत बालिकाहरुको उचाइ उमेरअनुसार बढ्न सकेको छैन ।
राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७६, अनुसार भारतमा वेश्यावृत्तिमा नेपाली महिला र बालिहकाहरुको ठुलो संख्या रहेको छ, जसमध्य २६ प्रतिशत पीडितहरू १८ वर्ष भन्दा कम उमेरका छन् । यस अवस्थामा अन्तर्राष्ट्रिय बालिका दिवसको महत्व र सान्दर्भिकता अझै बढि देखिन्छ ।
नियमित रुपमा आइरहने बलात्कार, हिंसा, दुव्र्यवहार, विभेद, एसिड आक्रमण, अनलाइन दुव्र्यवहार, इत्यादी जस्ता जघन्य घटनाहरुले बालिकाको शिक्षा, स्वास्थ्य, चौतर्फि विकास, संरक्षण र प्रभावकारी सहभागितामा परेको नकारात्मक असरलाई अन्त्य गर्न देशमा विद्यमान ऐन, कानुन, कार्ययोजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न यस दिनलाई विशेष कार्यक्रमका साथ मनाइन्छ ।




Comments are closed.