बेलहिया(रुपन्देही) । स्थलमार्गहुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहियानाकाबाट बुजन्मस्थल लुम्बिनी सम्मका लागि सञ्चालन गरिएको बस सेवाबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने व्यवसायीले अपेक्षा गरेका छन् ।
लुम्बिनी विकास कोषले सञ्चालन गरेको निःशुल्क विद्युतीय बस सेवाबाट लुम्बिनी भ्रमणका लागि स्थलमार्गबाट नेपाल प्रवेश गरेका पर्यटकका लागि सहज भएकाले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाल प्रवेशद्वार बेलहियामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका श्रीचन्द गुप्ता लुम्बिनी घुम्न जाने पर्यटकको लागि यो निक्कै राम्रो सुविधा भएको बताए ।
उनले भने,“अब पर्यटकलाई बस खोज्ने झन्झट पनि नहुने भयो, हामीले पनि निःशुल्क बसमा चढाएर पर्यटकलाई लुम्बिनी घुम्न पठाउँदा राम्रो सन्देश जाने भयो ।” विकास कोषले वृहत्तर लुम्बिनी क्षेत्रको भ्रमण गर्न चाहनेका लागि ‘धम्म यात्रा’ नाम दिएर बुद्धजन्मस्थल लुम्बिनीदेखि भैरहवा विमानस्थल हुँदै बेलहिया आवतजावत गर्ने व्यवस्था गरेको छ ।

स्तरीय बसमा चढेर वृहत्तर लुम्बिनी घुम्नेगरी सञ्चालन गरिएका बस दीर्घकालसम्म चलेमा त्यसले लुम्बिनी क्षेत्रको पर्यटनप्रवर्द्धनमा थप टेवा दिने सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउछन् । होलिडे ट्राभल्सका सञ्चालक पर्यटन व्यवसायी विष्णु शर्माले नेपाल प्रवेश गरेका पर्यटकलाई बेलहियाबाटस्तरीय बस सेवामार्फत बुद्धजन्मस्थल लुम्बिनी पुर्याउन पाउदा पर्यटन प्रवर्द्धनको क्षेत्रमा सुखद अनुभूति मिलेको बताए ।
लुम्बिनीमा विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयाले विद्युतीय बस सेवाले लुम्बिनी क्षेत्रको भ्रमण गर्न चाहनेलाई सहयोग पुर्याइरहेको बताए । उनले लामो प्रतिक्षापछि पाँचवटा बस सञ्चालन गरेको जानकारी दिए । उक्त सेवा लुम्बिनीदेखि बेलहिया, रामग्राम, तिलौराकोट, देवदह, भैरहवा एअरपोर्ट र लुम्बिनीको वरिपरीको क्षेत्रमा यात्रा गर्न चाहनेलाई निःशुल्क सेवा सञ्चालन गरिएको छ ।
लुम्बिनी घुम्न आउनेलाई विदेशी पर्यटन बजारमा सञ्चालन रहेका विश्वस्तरीय सेवा भएको एसी बस सञ्चालनमा ल्याएर लुम्बिनीले नयाँ सन्देश दिएको सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । बस सञ्चालनको लागि हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोषले चालक र सहचालक उपलब्ध गराई सहकार्य गरेर वृहत्तर लुम्बिनी क्षेत्रमा बस सञ्चालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले बताए ।
पाँचवटा बसमध्ये लुम्बिनी बेलहिया रुट, लुम्बिनी तिलौराकोट रुट, लुम्बिनी बुटवल रुट, लुम्बिनी रामग्राम रुट, लुम्बिनी देवदह रुट र लुम्बिनी वरिपरी बस सेवा नियमित सञ्चालन गर्नेगरी सञ्चालनमा ल्याइएको कोषका कोषाध्यक्ष ढुन्डिराज भट्टाराईले बताए । दसैं तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुटमा परीक्षणकालका लागि सुचारु गरिएको हो । रासस




Comments are closed.